रड प्रहार गरी श्रीमतीको हत्या



तुलसीपुर ।

दाङमा रड प्रहारबाट महिलाको हत्या भएको छ। तुलसीपुर उपमहागनरपालिका–४, तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा फलामे डण्डी (रड) प्रहार गरी हत्या गरेका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लका अनुसार मदिरा खाएर चौधरीले श्रीमतीलाई रडले हान्दा उनको शनिबार घटनास्थलमै मृत्यु भएको हो।

पेण्डुवा धेरै मदिरा खाने भएकाले घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। श्रीमतीको हत्यापछि अवस्था बुझ्न त्यहाँ पुगेका स्थानीयलाई पनि उनले रड प्रहार गरेका छन्।

स्थानीय मीना थापा र शिला चौधरी रडले लागेर घाइते भएका छन्। मीनाको टाउकोमा चोट लागेको छ भने शिलाको हड्डीमा चोट लागेको छ। दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

उनीहरू दुवै जनाको अवस्था सामान्य रहेको तुलसीपुर–४ का वडाध्यक्ष तुलसी थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्