धुलिखेलको पञ्चकन्यामा १ करोड २८ लाखमा विद्यालय भवन 

बन्द हुन लागेको आधारभूत विद्यालयमा १ सय ७६ विद्यार्थी

14
Shares

काभ्रे । 

२०२८ सालमा साविक बनेपाको बखुडोल भन्ने स्थानमा स्थानीयहरूले पाठशालाका रूपमा स्थापना गरी २०२९ साल जेठ १४ गते औपचारिक रूपमा श्रीखण्डपुर ९ हाल धुलिखेल नगरपालिका वडा नम्बर ३ चोलामाथमा स्थापना भएको पञ्चकन्या आधारभूत विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।

‘भूकम्प पछि धुलिखेलका १२ वटा वडाहरूमा रहेका विभिन्न विद्यालयहरूको पुनर्निर्माण गर्ने क्रममा पञ्चकन्या २५ औ हो’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘विद्यालयको पूर्वाधार निर्माण, भौतिक संरचनासँगै शैक्षिक गुणस्तरमा ध्यान दिएका छौँ ।’ दरबन्दी मिलान, विद्यालय तथा शिक्षक एकीकरण, गुणस्तरका लागि विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै नगर प्रमुख ब्याञ्जुले शैक्षिक कार्यक्रमका लागि नगरपालिका भित्र रहेका विद्यालयहरुमा राज्यको वार्षिक ४५ करोड भन्दा धेरै रकम खर्च भइरहेको बताए । धुलिखेल शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्ने नगरका रूपमा स्थापना गर्ने उद्देश्यले भौतिक संरचनाको गुणस्तरलाई समेत प्राथमिकतामा राखेको नगर प्रमुख ब्याञ्जुले बताए ।

वडा अध्यक्ष गणेश आचार्यले वडा क्षेत्रका नागरिकहरूलाई सहज र सुलभ रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले पाँच दशक अघि स्थापना भएको विद्यालयले प्रदान गर्ने गुणस्तरलाई अझै बढावा दिन शिक्षक, विद्यार्थी, समुदाय, अभिभावक र जनप्रतिनिधिहरू सक्रिय हुनु पर्ने बताए । ‘नागरिकहरूलाई शिक्षा, स्वास्थ्य र विकासका अन्य पूर्वाधारहरूमा कमी हुन नदिन निरन्तर सक्रिय छौँ’–अध्यक्ष आचार्यले भने–‘विद्यालय भवन निर्माण पछि शैक्षिक गुणस्तरलाई थप सहयोग पुग्नेछ ।’ विद्यालय भवन निर्माण शिलान्यास कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक प्रकाश हुमागाईँले अभिभावक र विद्यार्थीहरूको मन जित्न अङ्ग्रेजी माध्यमबाट नैतिक, व्यवहारिक शिक्षा प्रदान गरिरहेको बताए । ‘हामी घरबाट विद्यालय झिकाउने, टिकाउने, सिकाउने र नेपालमा बिकाउने शिक्षा प्रदान गर्न प्रयत्न छौँ’–प्रधानाध्यापक हुमागाईँले भने–‘गुणस्तरीय शिक्षाका लागि समुदायको सक्रिय सहभागिता आवश्यक छ ।’

नर्सरी देखि कक्षा ८ सम्म १ सय ७६ जना विद्यार्थीहरू अध्ययनरत विद्यालय लामो समय देखि केही शिक्षकहरूका कारण नियमित सञ्चालन हुन सकेको थिएन । समुदायको सक्रियताका कारण बन्द हुने अवस्थामा पुगेको विद्यालयलाई पुर्नजिवन दिएकोमा स्थानीयहरूले धन्यवाद व्यक्त गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्री बडालले बताए ।

नगरपालिका तथा स्थानीय जनप्रतिनिधिको सक्रिय सहयोगका कारण विद्यालयले पुर्नजिवन पाएको उनले बताए । २०८१ असार १० गते भित्र सम्पन्न गर्ने गरी दुई तल्लाको ६ कोठे पक्की भवन निर्माणको सम्झौता २०८० पुष १ गते भएको थियो । नगरपालिकाले राखेको १ करोड समपुरक बजेटमा प्रदेश सरकारले १ करोड विनियोजन गरेको थियो । १ करोड ९९ लाख ९९ हजार लागत अनुमान गरिएको उक्त भवन १ करोड २८ लाख २५ हजारमा निर्माण सम्झौता भएको हो । बाँकी रकम सोही विद्यालय निर्माणका लागि खर्च गर्ने नगर प्रमुख ब्याञ्जुले बताए ।

प्रविधिमैत्री शिक्षण सिकाइमा जोड, माध्यमिक तह सञ्चालन, बालमैत्री विद्यालय वातावरण सिर्जना गरी काम प्रति सकारात्मक सोच भएका जनशक्ति उत्पादन गर्ने उत्कृष्ट शैक्षिक थलोको रूपमा विकास गर्ने, सबै प्रकारका विद्यार्थीहरूको लागि सुरक्षित सिकाई वातावरण मार्फत जीवनोपयोगी एवम् रोजगार उन्मुख शिक्षाको व्यवस्था गर्ने विद्यालयको रूपमा स्थापित गर्ने लगायतका योजना रहेको प्रधानाध्यापक प्रकाश हुमागाईँले बताए ।