मेलम्ची उद्घाटनमा बालेनको व्यंग्य- ‘हामीसँग भएको एउटा मन कतिपल्ट जित्नु हुन्छ ?’

0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले मलेम्चीको पानी वितरण उद्घाटनका विषयमा संघीय सरकारप्रति कटाक्ष गर्नुभएको छ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्चीको पानी वितरण प्रणालीको पुनः उद्घाटन गरेपछि सामाजिक सञ्जालमार्फत् मेयर साहले व्यंग्य गर्दै आफूहरूसँग भएको एउटा मन पनि कतिपल्ट जित्नुहुन्छ भन्दै प्रधानमन्त्रीप्रति व्यंग्य गर्नु भएको हो।

२०७७ साल फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, २०७७ साल चैतमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, २०७९ सालको वैशाख र मंसिरमा तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरी र सोमबार प्रधानमन्त्री प्रचण्डले मेलम्चीको पानी उद्घाटन गरेको भन्दै व्यंग्य गर्नुभएका साहले सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्व कीर्तिमान कायम गरेर।’

विभिन्न मितिमा खानेपानी मन्त्रीदेखि राष्ट्रपति समेतले गरेर मेलम्ची खानेपानीको उद्घाटन ५ पटक भइसक्यो । मेलम्चीको पानी काठमाडौं ल्याउने भनेर २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरिको थियो।

मेयर साहले आफ्नो स्टाटसमा मेलम्ची खानेपानी विकास समिति गठन भएको दुई वर्षपछि २०५७ सालमा आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार भएको उल्लेख गर्नुभएको छ।

उहाँले सुरुङ खन्न शुरू गर्न पनि ११ वर्ष लगाएर २०६८ सालबाट मात्रै सुरुङ खन्न थालिएको र त्यो ११ वर्षमा राजा ज्ञानेन्द्रको नेतृत्वसहित १३ पटक त प्रधानमन्त्रीहरू नै फेरिएका थिए भन्दै संघीय सरकारको आलोचना गर्नुभएको छ।

मेयर साहले सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘मेलम्चीमा भएका कर्मचारीको थपघट र नियुक्तिको सूची त झन् निकै लामो बन्ला । मेलम्चीका नाममा अरबौँका गाडी किनिएका थिए । एउटा दुहुनो गाईजस्तो मात्रै भयो मेलम्ची खानेपानी आयोजना । तर, काठमाडौंमा पहिलोपटक पानी झर्न त्यसको ९ वर्षपछि मात्रै सम्भव भयो।’

उहाँले आफ्नो मनको तीतो पोख्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७७ साल फागुनमा मेलम्चीको पानी काठमाडौं झार्ने कीर्तिमानका लागि उद्घाटन त गरियो तर कीर्तिमानकै लागि प्राविधिक पक्षलाई जोखिममा राखिएकोले त्यसको असर सोही वर्षमा नै देखिएको पनि उल्लेख गर्दै लेख्नुभएको छ– ‘कीर्तिमानको पछि नलागेर प्राविधिक जोखिम नलिएको भए खोलाबाट ल्याउने पानीमा त्यहाँसँगै आउने लेदो रोक्ने प्रणाली विकसित गर्न ध्यान दिइन्थ्यो । त्यो नगरेर मेलम्चीमा राज्यको अर्बौं लगानीमात्र जोखिमपूर्ण बनाइएन, काठमाडौंबासीको स्वस्थ पानी पिउन पाउने हकलाई अवमूल्यन गरियो।’

देशव्यापी रूपमा नेपालमा केही हुन सक्दैन भन्ने नकारात्मक धारणालाई बढावा दिन मलजल गरेको भन्दै व्यक्तिगत कीर्तिमान कायम गर्न प्राविधिक पक्षलाई नजरअन्दाज गरेर मेलम्चीको पानी काठमाडौं झारेर उद्घाटन गर्ने कुप्रथाको सुरुवात भएको मेयर साहको धारणा छ।

उहाँले त्यसकै सिलसिलाको नयाँ संस्करणको उद्घाटन सोमबार प्रम पुष्पकमल दाहालबाट पनि भयो भन्दै दलका नेताप्रति व्यंग्य गर्नुभएको छ।

उहाँले लेख्नुभएको छ– ‘बिडम्बना ! अहिले पनि प्राविधिक जोखिमलाई नजरअन्दाज गरिएको छ। मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा छ। त्यो झरेर मुहान कुनै पनि बेला थुनिन सक्छ। बालुवा भएको सुरुङबाट बालुवा ननिकाली जोखिम कायमै राखी पानी ल्याइँदैछ । बालुवा थेग्रिने संरचनाहरूको अभावमा लेदो सीधै सुरुङमा पसेर सुरुङ नै भरिन सक्छ, जसलाई निकाल्न वर्षौं समय र अर्बौंको लागत लाग्न सक्छ। वर्षाको पानीबाट आयोजनालाई जोगाउन उपयुक्त संरचनाहरू निर्माण भइसकेको छैन। यसैले वर्षायाम लाग्नेबित्तिकै पानी आपूर्ति बन्द गर्दै मुहान थुन्नुपर्ने अवस्था छ। हिउँदमै पनि लेदो नथिग्राइ सीधै पानी सुरुङमा लैजाँदा त्यसमा भएका बालुवा सुरुङमा बिस्तारै थिग्रिएर केही समयपछि सुरुङ पुरै बालुवा र लेदोले भरिएर लामो समयको लागि पानी आपूर्ति बन्द हुन सक्छ।’

प्राविधिक जोखिमको आँकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनबिना राजनैतिक स्टन्टकै लागि मात्र मेलम्चीको पानी काठमाडौं ल्याउन खोज्नु उद्घाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडी मात्रै हो भएको पनि बालेनले दाबी गर्नुभएको छ।