सडक खन्ने क्रममा सुख्खा पहिरो जाँदा एकको मृत्यु, दुई घाइते

0
Shares

दोलखा।

दोलखाको बिगु गाँउपालिका वडा नम्बर– १ लामाबगरबाट चाईना जोड्ने नयाँ ट्र्याक खन्ने क्रममा आइतबार दिउँसो देउराली भन्ने ठाउँमा सुख्खा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

नासा हाइड्रोपावरले खनेको नयाँ ट्र्याकको देउरालीमा आइतबार दिउँसो ३ः २० बजे एक्कासि सुख्खा पहिरो खस्दा हाइड्रोपावरका कामदार स्थानीय २२ वर्षको कुसन तमाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक जीवन श्रेष्ठले बताए। सुख्खा पहिरो खसेको उक्त स्थान लामाबगरबाट १० किलोमिटर उत्तरमा रहेको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर २८ वर्षीय दिलकुमार तमाङ र ५८ वर्षीय रसमान तमाङ घाइते भएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

नयाँ ट्र्याक खन्ने क्रममा माथिबाट सुख्खा पहिरो खसेर हाइड्रोपावरका कामदार पुरिएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय लामाबगरबाट जनपथ प्रहरीका प्रहरी सहायक निरीक्षक कैलाश कार्कीको कमान्डमा चार जना, शसस्त्र प्रहरी निरीक्षक जयन्त केसीको नेतृत्वमा पाँच जना र नेपाली सेनाको जमदारको नेतृत्वमा पाँच जनाको टोली पहिरो गएको स्थानमा पुगी उद्धार कार्य गरेका थिए ।