विकासको लागि बलियो सरकार चाहिन्छ भन्ने कुरा जनताले बुझ्न लागेका छन्: महेश बस्नेत

0
Shares

काठमाडौं ।

नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले गठबन्धन सरकार बनेपछि विकास निर्माणका काम पछाडि परेका बताउनुभएको छ ।

अरनिको राजमार्गको आदर्श चोकबाट सिपाडोल सूर्यविनायक नगरपालिका– ८ वडा कार्यालय हुँदै दोर्लाङ्ग घ्याम्पे डाँडा जाने सडकको दोस्रो खण्ड निर्माण र कालोपत्रे गर्ने कार्यको शिलान्यास गर्दै बस्नेतले भक्तपुरमा एमालेले सुरु गरेका २२ वटा सडकका योजनाहरू गठबन्धन सरकारले काट्ने र ढिलासुस्ती गर्ने काम गरेको बताउनुभयो ।

एमालेले सञ्चालन गरेको विकास मोडल बारे जनतालाई बुझाउन नसक्दा पनि चुनावमा सोचेको परिणाम आउन नसकेको बस्नेतको समीक्षा छ । एमाले सुरु गरेको ठुला सडक, स्मार्ट सिटी लगायतका कुराले जग्गा धेरै काटिन्छ, व्यक्तिगत सम्पत्ति नाश हुन्छ भनेर विरोधीले फिँजाएको भ्रम चिर्न नसक्दा चुनावमा सोचेको परिणाम आउन नसकेको उहाँको विश्लेषण छ ।

‘विकास धेरै गरेर हामीले जनतालाई भ्रम पनि धरै छर्ने मौका दियौँ कि रु विकासमा मोर्डन चेतनालाई अलिकति अगाडि बढाउन सकेनौँ कि ?’, बस्नेतले प्रश्न गर्नुभयो ।अहिले विकास काम ठप्प भएपछि मानिसहरूले बल्ल बुझ्न लागेका बस्नेतले बताउनुभयो । विकास समयले ल्याउँछ भनि  फैलाएको भ्रम अहिले चिरिएको बस्नेतले बताउनुभयो । ‘विकासको लागि बलियो सरकार चाहिने रहेछ, सरकार बलियो भएपछि अर्थतन्त्र बलियो हुने रहेछ, सरकार बलियो हुँदा विकासका अवधारणा बलिया हुँदा रहेछन्, जनप्रतिनिधिले सही ढङ्गले काम गर्दा भ्रष्टाचार कम हुँदो रहेछ भन्ने कुरा भर्खर बुझ्न थालेका छन्’, उहाँले भन्नुभयो ।

अहिले भक्तपुरले पठाएको जनप्रतिनिधिले जिल्लाको विकासको लागि एक पैसा पनि बजेट नल्याएको भन्दै बस्नेतले आलोचना गर्नुभयो । यसले भक्तपुरको विकास वर्षौँ पछि परेको उहाँले बताउनुभयो ।कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सो सडकमा नगरपालिकाले ६०र४० को अवधारणा अनुसार ढल निर्माण लगायतका काम गरिएको जानकारी दिनुभयो ।