बालकुमारीमा ज्यान गुमाएका युवकको परिवारलाई कोरियाबाट आर्थिक सहयाेग

0
Shares

काठमाडौं ।

ललितपुरको बालकुमारीमा भएको प्रर्दशनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका युवकको परिवारलाई कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

कोरियामा बसोबास गर्दै आएका नेपालीले रकम संकलन गरेर सात लाख ५७ हजार रुपैयाँका दरले उनीहरुका परिवारलाई पठाएका हुन् । कोरियन (इपिएस) भाषा परीक्षामा सहभागी हुन पाउनु पर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा अछामको चौरपाटी गाउँपालिका–१ सिउडीका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

उक्त रकम अछाम सेवा समितिले बुधबार धनगढीमा आयोजना गरेको श्रद्धाञ्जली शभामा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले मृतक शाहका बुवा टेक बहादुर शाहलाई हस्तान्तरण गरेका छन् । यो अभियान सामाजिक अभियन्ता, धनगढी–१ शिवनगर स्थायी बासिन्दा हाल दक्षिण कोरियामा रही विभिन्न सामाजिक कार्यमा अग्रसर युवा बीबी सिंहको अगुवाइमा भएको थियो । यसैगरी, नेपाली सम्पर्क, समिति, पत्रकार महासंघ दक्षिण कोरिया, कर्णाली प्रदेश समाज दक्षिण कोरिया, सुदूरपश्चिम समाज दक्षिण कोरिया र दैलेख समाज दक्षिण कोरियाको समन्वयमा अभियान सञ्चालन गरेर रकम संकलन गरिएको हो ।