देशलाई कमजोर बनाउने सुनियोजित षडयन्त्र : शंकर पोखरेल



काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल राष्ट्रलाई कमजोर बनाउन अनेक खालका षडयन्त्र भइरहेको बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनद्वारा शुक्रबार दाङको घोराहीमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारले राष्ट्र हितको प्रतिनिधित्व गर्न नसकेको बताउनुभयो ।

‘नेपाल राष्ट्रलाई कमजोर बनाउनको लागि सुनियोजित ढङ्गले षडयन्त्र पनि भइरहेको छ, नेपाल राष्ट्र इतिहासकै सबैभन्दा कमजोर अवस्थामा उभिएको छ भन्दा अत्यन्त दुःख लाग्दछ’, पोखरेलले भन्नुभयो । सरकार देश र जनता प्रति उदासीन बन्दै गएको पोखरेलले बताउनुभयो । नेपाल सरकारको बजेट प्रणालीबाट जाने रकम भन्दा बढी रकम भारतीय दूतावासले एउटै योजनामा खर्च गर्ने गरी सम्झौता गर्नु त्यसकै उदाहरण भएको बताउनुभयो । यसले स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो सरकारको बजेट प्रणालीमा होइन भारतीय दूतावासमा धाउन बाध्य बनाउने काम गरेको पोखरेलको भनाइ छ ।
अहिले नेपालको धर्म, संस्कृति माथि आक्रमणको काम भइरहेको भन्दै पोखरेलले चिन्ता व्यक्त गर्नुभयो ।

मानिसहरू बहकिएर जातीय अतिवादी र धार्मिक अतिवादीको पछि लागेको पोखरेलले बताउनुभयो । सत्तारुढ दलका मानिसहरू र मन्त्रीहरूले हिंसालाई प्रोत्साहित गरेर नागरिकको जीवन लिनेसम्मका काम गरेको पोखरेलले टिप्पणी गर्नुभयो । अहिले मुलुक मानवीय संकटको अवस्थामा पुगेको उहाँले बताउनुभयो । यस्तो अवस्थामा सरकारमा रहने, नयाँ शक्ति भनिने र राजा आऊ देश बचाउ भन्नेका निशाना पनि नेकपा एमाले प्रति नै भएको उहाँले बताउनुभयो । अहिले सत्तामा रहेका, नयाँ शक्ति भनिएका वा राजवादी सबैले आफ्नो अभीष्ट पूरा गर्न एमाले माथि आक्रमण गरिरहेका पोखरेलको भनाइ छ ।

एमालेले सम्पन्न गरेको समृद्धिका लागि संकल्प यात्राले अविवाद नियन्त्रणमा भूमिका खेलेको उहाँले दाबी गर्नुभयो । एमालेका नेता कार्यकर्ताले मात्र होइन अन्य दलका नेता, कार्यकर्ताले पनि सो यात्राको खुलेर प्रशंसा गरेका उहाँले बताउनुभयो । ‘संकल्प यात्रा नेकपा एमालेको मात्र नबनेर सिङ्गो राष्ट्रको संकल्प यात्रा बन्न पुग्यो’, उहाँले भन्नुभयो ।

मुलुकलाई अहिलेको अवस्थाबाट सही बाटोमा लैजान राजनीतिक दलसँगै कर्मचारी प्रशासनको पनि भुमिका रहेको पोखरेलले बताउनुभयो । तर कर्मचारी प्रशासनमा व्यापक राजनीतिकरण गरिएको कारण कर्मचारी प्रशासन पनि कमजोर हुँदै गएको उहाँले टिप्पणी गर्नुभयो ।

पोखरेलले राष्ट्र निर्माण गर्ने हो भने काम गर्ने उमेरका मानिसहरू देश सुधार्ने काममा सहभागी हुनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘काम गर्ने मानिस जति सबै विदेश गयो भने देश कसरी बन्दछ रु तर अहिलेको सरकारको लागि यो नागरिक पलायनता कुनै चिन्ताको विषय बनेको देखिँदैन’, उहाँले भन्नुभयो ।
अहिले देश निर्माणको काम ठप्प भएको पोखरेलले बताउनुभयो । यसले गर्दा नागरिकमा निराशा र पलायनता बढेको पोखरेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्