परीक्षाको विषय ठूलो नबनाऊँ



काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैतको पहिलो साता गर्ने तयारी गरेको छ। एसईईको हल्ला सुन्नासाथ परीक्षा दिने तयारीमा रहेका विद्यार्थीमा तनाव बढ्न थालेको छ । परीक्षाको विषयलाई सामान्य रूपमा सोच्नुपर्ने हो।

वास्तवमा कक्षा दशको अन्तिम परीक्षा प्रदेश सरकारले लिने व्यवस्था कानुनमा उल्लेख छ। राष्ट्रिय परीक्षा बोर्ड (रापबोर्ड)ले प्रदेशस्तरमै परीक्षा सञ्चालन गर्ने जनाए पनि प्रश्नपत्र निर्माण, परीक्षण र परीक्षाफल प्रकाशित गर्ने गरी हस्तक्षेप गरेको छ।

यस्ता क्रियाकलापले गर्दा प्रदेश सरकारको परीक्षा सञ्चालन गर्ने अधिकार खोसिएको छ। रापबोर्डले परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने अधिकार प्रदेशस्थित सामाजिक विकास मन्त्रालयलाई दिएको जनाएको छ।

परीक्षा सञ्चालन गर्न प्रदेश मन्त्रालयको सामाजिक विकास मन्त्रालयको सचिवको अध्यक्षतामा हुने परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति हुने उल्लेख छ। रापबोर्डले प्रदेशको अधिकार हस्तक्षेप गरेको विषय अघिल्लो वर्ष नै जनाएको थियो।

प्रदेश सरकारले परीक्षाको सम्पूर्ण प्रक्रिया पूरा गर्ने अधिकार आफ्नो हुनुपर्ने स्पष्ट पारेको छ। त्यो जिकिरलाई रापबोर्डले मानेको छैन। परीक्षाको संवेदनशीलतालाई ध्यानमा राखेर बोर्डबाटै प्रश्नपत्र निर्माण परीक्षण र परीक्षाफल प्रकाशित गर्नुपर्ने अडान रापबोर्डको छ।

कक्षा १ देखि १२ सम्म माध्यमिक शिक्षा हो। १० कक्षाको परीक्षालाई सामान्यीकरण गर्न छाडेर बढी हल्ला गर्नु उचित हुँदैन । त्यसले परीक्षा दिने तयारीमा रहेका विद्यार्थीमा मानसिक तनाव बढ्छ।

यो वर्ष अक्षराङ्क पद्धतिअनुसार परीक्षार्थीको मूल्याङ्कन गरिँदैछ। ३५ प्रतिशतभन्दा कम ल्याउने परीक्षार्थीको ग्रेडसिटमा ननग्रेडेड अर्थात् (एनजी) उल्लेख हुनेछ। त्यसको कारण विद्यार्थीमा त्रास बढ्ने र अमर्यादित क्रियाकलाप बढ्ने आशंका छ।

गतवर्षको यस्तो व्यवस्था थिएन। ‘ई’ ग्रेड ल्याउनेले ग्रेड वृद्धि परीक्षा दिनुपर्ने व्यवस्था थियो। जतिसुकै विषयमा जुनसुकै ग्रेड ल्याए पनि पुनः परीक्षा दिन पाइने व्यवस्था थियो । यो वर्ष दुई विषयमा ननग्रेड (एनजी) ल्याउने विद्यार्थीले मात्र ग्रेड वृद्धि परीक्षा दिने व्यवस्था छ।

परीक्षामा २ विषयमा ३५ प्रतिशत अंक ल्याउन ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। तीन विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याए आउँदो वर्ष सबै विषयमा परीक्षा दिनुपर्ने हुन्छ । यस वर्षबाट नयाँ पाठ्यक्रमअनुसार परीक्षा हुनेछ।

त्यसको अन्त्य गर्न परीक्षालाई समान्यीकरण गर्दै लैजानुपर्छ । हरेक वर्ष जटिल व्यवस्था गरेर परीक्षालाई डरलाग्दो बनाउनु उचित हुँदैन। यसवर्षको परीक्षामा करिब ५ लाख विद्यार्थी सहभाग हुँदैछन्।

परीक्षामा सहभागी हुने विद्यार्थीलाई सहज वातावरण बनाउन विद्यालय, शिक्षक र अभिभावकको मुख्य भूमिका हुन्छ। विद्यार्थीलाई त्रास हैन शान्त वातावरणमा परीक्षा दिने व्यवस्था गर्नु सबैको दायित्व हुन्छ।

प्रतिक्रिया दिनुहोस्