बेनी नगरपालिकाद्वारा कर्मचारी र शिक्षकलाई सम्मान

0
Shares

म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिकाले आज (बिहीबार) एक कार्यक्रमको आयोजना गरी नगरपालिका क्षेत्रमा कार्यरत कर्मचारी तथा शिक्षकलाई सम्मान गरेको छ । बेनी नगरपालिकाको १४औँ नगर अधिवेशनको अवसर पारेर नगरपालिका अन्तर्गत कार्यरत उत्कृष्ट कर्मचारी, शिक्षक, विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा नगरपालिकाको प्रशासन सेवातर्फ उत्कृष्ट कर्मचारीहरु सहायक पाँचौंद्वय लक्ष्मण पौडेल र बेनपा–९, घतानका वडा सचिव कृष्णबहादुर बानियाँ, प्राविधिकतर्फ बेनपा–६, अर्थुङ्गे वडामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर मीनबहादुर खत्री र स्वास्थ्य सेवातर्फ ज्यामरुककोट स्वास्थ्यचौकीका अनमी करुणा थापामगर रहेको बेनी नगरपालिकाले जनाएको छ ।

यसैगरी सामुदायिक विद्यालयतर्फ पौलस्त्य माध्यमिक विद्यालय भिरमुनिका सहायक प्रधानाध्यापक शिव ‘सस्मित’, सरस्वती आधारभूत विद्यालय बगरफाँटका शिक्षक घनदेवी घर्ती, गएको शैक्षिक सत्रमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ४ जिपिएसहित सर्वोत्कृष्ट हुने प्रकाश मावि बेनीका विद्यार्थी समीर सुवेदी र बेनी नगरपालिकाका नगर प्रहरी प्रमुख प्रहरी हवलदार शंकर पौडेललाई सम्मान गरिएको छ । उत्कृष्ट कर्मचारी, शिक्षक र विद्यार्थीलाई जनही पाँचहजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको थियो ।

त्यस्तै विद्यालयतर्फ प्रकाश माविलाई पनि प्रशंसापत्रले सम्मान गरिएको छ भने बेनी–गलेश्वर सडक स्तरोन्नति निर्माणसम्पन्न गर्नुपर्ने समयभन्दा अगावै निर्माणको कार्य सक्ने मंगलादेवी सुवास कन्ट्रक्सन प्रालिका प्रोप्राइटर सुवासचन्द्र कार्कीलाई दोसल्ला ओढाई प्रशंसापत्रले सम्मान गरिएको छ । बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल र प्रवक्ता रमेशकुमार श्रेष्ठले उत्कृष्टता हासिल गर्नेहरुलाई सम्मान प्रदान गरेका थिए ।