रामबहादुर बम्जनको घरबाट ३ करोड बढी नगद बरामद



काठमाडौं ।

‘तपस्वी’ राम बहादुर बम्जन (लिटिल बुद्ध)को घरबाट प्रहरीले ३ करोडभन्दा बढी रुपैयाँ बरामद गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बम्जनको घर खानतलासी गर्दा उक्त रकम फेला पारेको हो।

सीआईबीले बम्जनलाई मंगलबार काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको थियो। बम्जनलाई पक्राउ गरेपछि सीआईबीसहित प्रहरीको टोलीले बुढानीलकण्ठको हात्तीगौँडास्थित घरमा छापा मारेको थियो।

छापा मार्दा ३ करोड ३० लाख ७५ हजार रुपैयाँ बरामद भएको सीआईबीले जानकारी दिएको छ। उनको घरबाट १५ वटा मोबाइल, ल्यापट र ३० वटाभन्दा बढी पेन ड्राइभ पनि बरामद भएको प्रहरीले जनाएको छ।

बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप छ। पछिल्लो समय सिन्धुलीको आश्रममा बस्ने गरेका बम्जन प्रहरीको फरार सूचीमा थिए।

पक्राउ परेका बम्जनलाई काठमाडौंबाट सर्लाहीमा पठाउने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्