पीएम कप सुदूरपश्चिम उपाधि कैलालीलाई



बैतडी ।

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको उपाधि कैलालीले जितेको छ।

मंगलबार सम्पन्न फाइनल खेलमा बैतडीलाई ३७ रनले पराजित गर्दै कैलालीले उपाधिसमेत रक्षा गर्‍यो। जितका लागि पाएको २ सय ८० रनको लक्ष्य पछ्याएको बैतडी ३८ ओभरमा २ सय ३२ रनमा समेटियो।

जसमा खडक बोहरा र नरेन भट्टले अर्धशतक बनाए पनि टोलीलाई जिताउन सकेनन्। खडक ७४ र नरेन ५९ रनमा आउट भएसँगै उनीहरूको उपाधि जित्ने सम्भावना सकिएको थियो।

कैलालीको बलिङमा कप्तान नारायण जोशीले ३, शेर मल्ल र धर्म जोशीले २÷२ विकेट हासिल गरे। यसअघि, फाप्ला मैदानमा ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला शुरु हुँदा ४० ओभरमा झारिएको थियो।

टस जितेर ब्याटिङ गरेको कैलालीले निर्धारित ४० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७९ रन बनायो। टोली कप्तान नारायण जोशीले शतकीय पारी खेल्दै १ सय १ रन बनाए। यस्तै शेर मल्लले ५० रनको पारी खेले ।

बैतडीको बलिङमा खडक बोहराले ३ र कप्तान वसन्त खत्रीले २ विकेट प्राप्त गरे। नारायण खेलका ‘म्यान अफ द म्याच’समेत चुनिएका थिए।

यस छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिनेछ।

प्रतिक्रिया दिनुहोस्