अस्ताए जर्मन फुटबलका ‘डेर काइसेर’

0
Shares

एजेन्सी ।

जर्मन भाषामा ‘डेर काइसेर’ को अर्थ हुन्छ सम्राट। यही शब्दबाट सम्बोधन गरिन्थ्यो जर्मन फुटबलका चर्चित खेलाडी तथा प्रशिक्षक फ्रान्ज बेकेनबाउरलाई। मैदानमा खेल्ने शैली र नेतृत्व क्षमताका कारण उनले यो उपमा पाए।

फुटबलमा दुर्लभ सफलता पाउने ब्यक्तिको सूचीमा अटाएको नाम हो बेकेनबाउर। किनभने बेकेनबाउर खेलाडी र प्रशिक्षक दुवै भूमिकामा फिफा विश्वकप जित्ने व्यक्ति थिए।

बेकनबाउरले सन् १९७४ मा पश्चिम जर्मनीको कप्तानको रूपमा र १९९० मा प्रशिक्षकको रूपमा विश्वकप जितेका थिए। यो उपलब्धि हासिल गर्ने बेकेनबाउरसँगै फ्रान्सका डिडियर डेसक्याम्प्स र ब्राजिलका मारियो जागालो मात्रै हुन्। जागालोको गत साता मात्रै निधन भएको थियो।

सन् १९६५ देखि १९७७ सम्म तत्कालीन पश्चिम जर्मनीको फुटबललाई बेग्लै पहिचान दिलाउन उनले महत्वपूर्ण योगदान गरेका थिए। आफ्नो समयमा उनी जर्मन टिमको रक्षा पर्खाल थिए। तर, आवश्यकताअनुसार उनी मिडफिल्ड र अग्रपंक्तिमा पनि जम्न सक्थे।

त्यसैले पनि बेकेनबाउरले रक्षकको रूपमा १९७२ र १९७६ मा गरी दुईपटक फुटबलको प्रतिष्ठित बालोन डी’ओर अवार्ड प्राप्त गरेका थिए।बेकेनबाउरले तीन विश्वकप र दुई युरोपियन च्याम्पियनसिपमा पश्चिम जर्मनीको प्रतिनिधित्व गर्दै १ सय तीन अन्तर्राष्ट्रिय म्याच खेलेका थिए।

आफ्नो खेल जीवनको अधिकांश समय बायर्न म्युनिखका लागि खेलेका बेकनबाउरले पछि सन् ७० र ८० को दशकमा अमेरिकामा पनि खेलेका थिए।

बायर्नका लागि उनले पहिलो अनुबन्ध गर्दा उनी १८ वर्षका मात्रै थिए। त्यसको दुई वर्षपछि अर्थात् २० वर्षको उमेरमा सन् १९६६ को फिफा विश्वकपमा चार गोल गरेका उनी प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी चुनिएका थिए। प्रतियोगिताभरि चार गोल गरे पनि उनको टिम भने आयोजक इंग्ल्यान्डसँग पराजित हुँदै उपविजेतामा सिमित बनेको थियो।

बेकेनबाउरले व्यवसायिक करिअरमा बायर्न म्युनिखका लागि सन् १९६७ मा युरोपियन कप विनर्स कप र १९७४ देखि १९७६ सम्म लगातार तीन युरोपियन कप जितेका थिए। उनले बायर्नबाट ५ सय ८५ म्याच खेलेका थिए। बार्यन म्युनिखबाहेक उनले अमेरिकाको न्युयोर्क कसमस र ह्यामबर्ग एसपीमा पनि लामो समय बिताएका थिए।

उनले सन् १९८२ मा ह्याम्बर्गका लागि बुन्डेसलिगाको उपाधि पनि जितेका थिए । सन् २००६ मा जर्मनीले विश्वकप आयोजना गर्दा बेकेनबाउर त्यस विश्वकप आयोजना कमिटीका प्रमुख थिए। उनीमाथि घुस र आर्थिक अपचलन गरेको आरोप लागेको थियो। पछि यो प्रकरण त्यत्तिकै सेलाएको थियो।

बेकेनबाउरले एक उत्कृष्ट प्रशिक्षकको छवि पनि बनाएका थिए । सन् १९८४ मा पश्चिम जर्मनको प्रशिक्षकको रूपमा रहे। उनले दुईपटक बार्यन म्युनिखको प्रशिक्षकको भूमिका पनि निभाए । सन् १९४५ मा म्युनिखमा जन्मिएका तिनै बेकेनबाउरले सोमबार अन्तिम स्वास लिए।

७८ वर्षको उमेरमा उनी यो धर्तीबाट बिदा भए। पछिल्लो समय अस्ट्रियामा गुमनाम जीवन बिताएका उनले साल्जबर्गमा अन्तिम सास फेरेका हुन।

पछिल्ला केही वर्षदेखि स्वास्थ्यसम्बन्धी समस्याबाट गुज्रिरहेका उनको निधनको कारण भने खुलाइएको छैन। उनको निधनबारे परिवारले सबैभन्दा पहिले डीपीएस समाचार संस्थालाई जानकारी गराएका थिए।

त्यसपछि मात्र जर्मन फुटबल संघले यसको पुष्टि गरेको हो। उनको परिवारले बेकनबाउरको शान्तिपूर्वक निधन भएको र त्यति बेला पूरा परिवार उनैको साथमा रहेको बताएको छ।