नागरिकता किर्ते धन्दामा वीरगन्जका मेयर



वीरगन्ज ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले कीर्ते गरेर अर्काको छोरीलाई आफ्नो छोरी भनेर नागरिकता प्रदान गरेको खुलेको छ।

युट्युब च्यानल सीधा कुराले मेयर सिंहले किर्ते गरेर अर्काको छोरीलाई नागरिकता दिएको जानकारी पाएको भन्दै समाचार सार्वजनिक गरेको हो।

मेयर सिंहले रुबिना श्रेष्ठ नामकी एक किशोरीलाई आफू बाबु बनेर नागरिकता दिएको रहस्य उक्त समाचारमार्फत् सार्वजनिक गरिदिएको हो। सार्वजनिक भएको समाचारअनुसार मेयर सिंहले आफू मेयर हुनुभन्दा अगाडि नै श्रेष्ठलाई नागरिकता दिएको पाइएको हो। तर, मेयर भएपछि सिंहले नागरिकता दिएको लिखतसमेत मेटाउन लागिपरेको दाबी गरिएको छ।

वीरगन्ज महानगरपालिका–३ का वडाअध्यक्ष बैंजु स्वर्णकारलाई बिदामा बस्न लगाएर वडा सदस्य तुफैल अख्त्तर ठकुराईमार्फत्श्रेष्ठलाई नागरिकता दिनका लागि सिंहले भूमिका निर्वाह गरेको पाइएको छ।

सिंह मेयर भएपछि श्रेष्ठलाई दिइएको नागरिकताको लिखत सबै मेटाउन लागिएको र जिल्ला प्रशासन तथा वडा कार्यालयमा समेत सोही दिनको रेकर्ड नभएको स्वयम् जिल्ला प्रशासन कार्यालय पर्साका कर्मचारीहरूले बताएका छन्।

मेयर पत्नी अन्नपूर्ण मानन्धरले नै आफ्नो सन्तानको नाउँमा एक मात्र छोरा रहेको स्वीकार गरेको समेत समाचारमार्फत् सार्वजनिक भएको छ।

झुटो अनि किर्ते गरेर कसैले पनि नागरिकता दिएपछि नेपालको हालको कानुनअनुसार सो व्यक्तिमाथि फौजदारी कानुन आकर्षित हुने भएकाले मेयरलाई पनि कारबाही हुनुपर्ने आवाज उठेको छ।

नेपाली कांग्रेसका नेतासमेत रहेका सिंहकै छिमेकी महमद सहाबुद्धिले कानुन सबैले मान्नुपर्ने भएकाले सिंहलाई कारबाही गर्नुको विकल्प नभएको बताउनुभयो ।

छोटो समयमै नगरवासी रुष्ट

लामो समय होटल व्यवसाय सञ्चालन गर्दै आइरहेका होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले सञ्चालन गर्दै आइरहेको क्यालिक होटल गएको वर्ष मेयर सिंहले बिनाजानकारी एकैचोटि डोजर लगाएर भत्काइएको भन्दै पन्तसहितको व्यवसायीको टोली निकै आक्रोशित बनेको थियो।

जनताबाट निर्वाचित व्यक्ति शासक जसरी प्र्रस्तुत भएको देख्दा आफू अझै पनि आश्चर्यमा परेको पन्तले पटकपटक बताउँदै आउनुभएको छ। सिंहले वीरगन्ज नगरवासीको मन जित्नेभन्दा पनि मन कुँड्याउनेतर्फ लागेको नगरका एकखालको बौद्धिक व्यक्तिहरूको भनाइ छ।

अघिल्लो महिनासमेत मेयर सिंह र उपमेयरका पक्षधरबीच कार्यालयमा नै कुटाकुटसमेत भएको थियो। राजेशमानको विगतको छवि नै ठीक नभएकाले मेयर भएपछि झनै त्यो पना बढी देखिएका कारण पनि आफूहरूलाई समेत अप्ठेरो भएको नेपाली कांग्रेसका नेताहरूले बताएका छन्।

सिंह कांग्रेससहित हालका सत्ता गठबन्धनका तर्फबाट गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार विजयकुमार सराबगीलाई पराजित गर्दै मेयरमा विजयी हुनुभएको थियो। मेयर सिंहले भने यो समाचार सार्वजनिक भएपछि आफ्नो चरित्र हत्या गरिएको भन्दै आफू पनि कानुनी बाटोमा जाने प्रतिक्रिया दिनुभएको छ।

मेयरविरुद्ध जाहेरी

मेयर सिंहका विरुद्धमा मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी परेको छ। वीरगन्ज महानगरपालिका–३ का नेपाली कांग्रेसका नेतासमेत रहेका महमद सहाबुद्धिले राजेशमान सिंहविरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी दिनुभएको हो।

मेयर सिंहले कानुनको बर्खिलाप गरेको भन्दै सिंहलाई कारबाहीको माग गर्दै आफूले जाहेरी दिएको सहाबुद्धिको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्