किस्ताबन्दीमा बक्यौता महसुल बुझाउने सुविधा लिन ३० दिनभित्र आवेदन दिनू : विद्युत प्राधिकरण



काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले बिजुली उपभोग गरेका उपभोक्तालाई किस्ताबन्दीमा बक्यौता रकम बुझाउने सुविधा लिने ३० दिनभित्र आवेदन दिन आग्रह गरेको छ।

प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै अबको ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको हो।

प्राधिकरणको यही पुस १६ गतेको सञ्चालक समितिको बैठकले बक्यौता रकम किस्ताबन्दीमा बुझाउने विशेष व्यवस्था गरेको सूचनामा जनाइएको छ। प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता महसुल बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन सकिने जनाएको छ।

यो व्यवस्था एक पटकका लागि गरिएको पनि प्राधिकरणले स्पष्ट गरेको छ। प्राधिकरणका अनुसार ६१ वटा उद्योगको रु २२ अर्ब २४ करोड रूपैयाँ बक्यौता छ। बक्यौता नबुझाएका २४ उद्योगको विद्युत् सेवा कटौती गरिएको छ।

प्रतिक्रिया दिनुहोस्