एक वर्षमा १६ लाखभन्दा बढी नेपालीले देश छोडे



काठमाडौं ।

अध्यागमन विभागले सन् २०२३ मा १६ लाख भन्दा बढी नेपालीले देश छाडेको जनाएको छ।

विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२३ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म १६ लाख ३ हजार ८ सय ३६ नेपाली विदेश गएका हुन्। तीमध्ये ७० हजार जनाले स्थायी रुपमा विदेश बस्ने गरी देश छाडेका छन्।

रोजगारी, घुमघाम, परिवारका सदस्यसँग भेटघाट, अध्ययन, स्थायी बसोबास, अस्थायी बसोबास, तालिम, खेलकुद, साँस्कृतिक कार्यक्रम लगायतका प्रयोजनका लागि नेपालबाट उनीहरु बाहिरिएको तथ्यांकमा उल्लेख छ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी २ लाख ७१ हजार ८८ जना संयुक्त अरब एमिरेट्स (यूएई) गएका छन् । यसैगरी भारत जानेको संख्या १ लाख ८० हजार ६ सय २ छ भने १ लाख ७९ हजार ४४१ जना कतार पुगेका छन्।

यस्तै, मलेसिया १ लाख ६५ हजार २०१, साउदी अरेबिया १ लाख ३६ हजार २०३ तथा अष्ट्रेलिया १ लाख ५ हजार ३४३ रहेका छन् ।

विभागका अनुसार सन् २०२३ मा स्थायी बसोबास गर्ने उद्देश्यले ७० हजार ९१५ नेपाली विदेश गएका छन्। जसमा पुरुष ३६ हजार ६ सय ६३ र महिला ३४ हजार २५१ छन्।

विभागको तथ्याङ्कअनुसार युद्धग्रस्त देश रुस जाने नेपालीको संख्या १ हजार ७९५ रहेको छ भने ९५ जना युक्रेन पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्