राष्ट्रिय सभा निर्वाचन : दलहरू उम्मेदवार टुंग्याउँदै



काठमाडौं ।

माघ ११ मा हुने राष्ट्रिसभा निर्वाचनमा भाग लिने राजनीतिक दलहरूले राष्ट्रिय सभा सदस्य उम्मेदवारको नाम धमाधम टुंगो लगाउने क्रममा छन्।

सत्तारूढ गठबन्धन दलहरूबीच सिट बाँडफाँटमा सहमति जुटेसँगै दलहरूले उम्मेदवार कसलाई बनाउने भनेर नाम तय गरी उम्मेदवारी मनोनयन गर्ने अन्तिम तयारीमा जुटेका हुन्।

यो निर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेबीच प्रतिस्पर्धा हुने पक्का भएको छ। सत्ता गठबनधनसँग मिलेर जाने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रस्तावलाई अस्वीकार गर्दै गठबनधमा सहभागी चारवटा दललाई भागबन्डा मिलाएर उम्मेदवार छनोटतर्फ केन्द्रित भएका हुन्।

राष्ट्रिय सभामा खाली हुने निर्वाचित १९ सदस्यमध्ये सत्ताको प्रमुख सहयात्री दल नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादीले १ सिट दिने लिने सहमति भएको थियो।

सोही सिटअनुसार गठबन्धन दलको आन्तरिक बैठक चलिरहेको छ। गठबन्धनको भागबन्डा मिले पनि नेपाली कांग्रेसमा भने संस्थापन पक्ष र इतर समूहबीच लफडा चलिरहेको छ।

कांग्रेसमा सभापति शेरबहादुर देउवाले आफूअनुकूल रहेका, पटकपटक अवसर पाएका र गत निर्वाचनमा चुनाव हारेकादेखि समानुपातिक सूचीमा रहेकाहरूलाई नै प्राथमिकता दिने तयारी गरेपछि नेता शेखर कोइराला समूहको छुट्टै बैठक बसेर कसरी जाने भन्ने रणनीति बनाउने लागेका छन्।

कांग्रेसले पाएको १० सिटमध्ये चार सिट आफ्नो समूहलाई दिनु पर्ने उक्त समूहको अडान छ भने देउवाले २ सिट मात्रै दिन तयार भएपछि कार्यसम्पादन समितिको बैठकसमेत अवरोध भएको छ। राति अबेरसम्म आन्तरिक छलफलमा रस्साकस्सी चले पनि कांग्रेसले आधिकारिक निर्णय गर्न नसकेको नेताहरूले बताएका छन्।

गठबन्धनबाट सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले आइतबार उम्मेदवारको टुंगो लगाइसकेको जनाएको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो।

उहाँका अनुसार कोशीबाट महिला कोटामा चम्मादेवी कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यस्तै वागमतीमा अपाङ्गतर्फ श्रीकृष्ण अधिकारी र गण्डकीमा महिलातर्फ मनरूपा शर्मा उम्मेदवार चयन भएका छन्।

यस्तै, लुम्बिनीमा अन्यबाट झक्कु सुवेदी, कर्णालीमा दलित तर्फबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुंगो लागेको छ। गठबन्धनकै एक घटक जनता समाजवादी पार्टी (जसपा) ले पूजा चौधरीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ।

गठबन्धनमा भएको भागबण्डामा जसपाले मधेसको एक सिट पाएको थियो । २०७९ मा रौतहट ३ (क) बाट प्रदेशसभामा पराजित चौधरी जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरी छोरी हुन्।

सत्ता गठबन्धनकै अर्को दल नेकपा एकीकृत समाजवादीले पनि उम्मेदवारको नाम टुंगो लागि नसकेको नेकपा एसका प्रबक्ता जगन्नाथ खतिवडाले बताउनुभयो।

राष्ट्रिय सभा निर्वाचनमा एकल सहभागी हुने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत उम्मेदवारहरू टुंग्याइसकेको छ। एमालेले कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेसमा महिलाबाट उषादेवी थरुनी (पर्सा) र अन्यबाट डा. अर्जुनकुमार सिंह राजपूत (महोत्तरी) लाई उम्मेदवार बनाएको छ।

त्यस्तै वागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपांगता\अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं) र दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ) उम्मेदवार रहेका छन् ।

पार्टीले गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा) र अपांगता÷अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) लाई उम्मेदवार बनाएको छ । लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ) र अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा) उम्मेदवारको नाम तय गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

त्यस्तै, कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु) र दलितबाट हिक्मत विक (दैलेख) लाई उम्मेदवार बनाएको उहाँको भनाइ छ।

उता सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपांगता÷अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) लाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको पोखरेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्