जटायुका वासस्थान जोगाउन चुनौती 



नवलपरासी। 

पूर्वी नवलपरासीमा नमुना सदरमुकाम बन्दै गर्दा यहाँ रहेका गिद्ध (जटायु) काे वासस्थान जोगाउन चुनौती थपिएकाे  छ । बिगतमा स्थानीयद्वारा संरक्षित यस क्षेत्रकाे ज्याेतिकुञ्ज सामुदायिक वनमा प्रकृतिका कुचिकार गिद्ध प्रजातिका पंक्षीकाे दर्जन बढी गुँड रहेका छन् ।

सदरमुकाम निर्माण आयाेजनाका लागि यहाँको करिव १ सय ८४ बिगाहा जमिनमा सडक पूर्वाधार बनाई प्रयाेजनका हिसावले बिभाजित गरिएकाे छ ।
यही जमिनमा संघ, प्रदेश र स्थानीय गरि दुई दर्जन बढी सरकारी तथा सेवा प्रदायक कार्यालय, रंगशाला, सभाभवन, पार्क लगायतका भाैतिक निर्माणका गतिविधि गर्ने बृहद गुरु याेजना रहेकाे छ ।

नमूना सदरमुकाम बनाउन करिव ३ सय बढीकाे संख्यामा यहाँ रहेका रैथाने बाेट बिरुवा हटाउनु पर्ने बताईन्छ । बाेटबिरुवा हटाउन कटान आदेशका लागि सम्बन्धित मन्त्रालयमा फाइल पुगिसकेकाे यस अघिनै बताइएको थियाे ।

यही विषयले गिद्ध अर्थात जटायुकाे वासस्थान जोगाउन चुनौती देखिएको छ भने संरक्षणकर्मीहरूलाई चिन्तित बनाएकाे छ ।यहाँका अधिकांश करम,सिमल र बर्राेका बाेटमा गिद्धले गुड लगाएर बच्चा कोरल्ने गरेकाे स्थानीयहरू बताउँछन् ।

यसै सम्बन्धमा वन अधिकृत शिशिर लम्सालले नमुना सदरमुकाम आयाेजना कार्यान्वयन पूर्व वातावरणीय प्रभाव मुल्यांकनमा गिद्धकाे वासस्थान संरक्षण हुनुपर्ने राय दिइएको बताए ।

स्थानीयका अनुसार यहाँको वनमा सेता र काला जातका गिद्धले वर्षाैं वर्ष देखि फुल पार्ने बच्चा हुर्काउने गर्दै आएका छन् ।यस सम्बन्धमा सहरी बिकास कार्यालय सघन सहरी तथा भवन निर्माण आयाेजना भरतपुरका प्रमुख झपटबहादुर थापा जैविक विविधताकाे पूर्ण संरक्षण गरेरै आयाेजनाकाे काम अघि बढ्ने बताउँछन् ।

यहाँकाे स्थानीय केरूङ्गे खाेला किनार र समुदाय संरक्षित वनका ठूला ठूला रूख गिद्ध,बकुल्ला जस्ता पंछीकाे प्राकृतिक वासस्थान रहि आएकाे छ ।
पंक्षीविद एवं जटायु रेष्टुरेन्ट व्यवस्थापन समिति अध्यक्ष डिबी चाैधरीले  नमुना सदरमुकाम बन्ने भनिएको क्षेत्रका रूखहरूमा अधिकांस डंगर प्रजातिका गिद्ध ब्रिडिङ्गका लागि गुँड बनाएर बसेको बताए ।

पछिल्लो स्थलगत अध्ययनमा यहाँको १ दर्जन सिमलका ठूला रूखमा २ , बर्राकाे १ र दर्जन बढी करमका रूखमा गिद्धका गुँड भेटिएका छन् ।
समुद्री सतहकाे ७५ मिटर देखि १८ सय मिटर सम्म बिचरण गर्ने डंगर गिद्ध नवलपरासी, स्याङ्जा,तनहुँ,गाेर्खा लगायत तराईकाे सुनसरी देखि कञ्चनपुर सम्मका वनमा पाईने तथ्यांकले देखाएकाे छ ।

अन्तर्राष्ट्रिय एक अध्ययनका अनुसार एउटा गिद्धले दूर्गन्धित सिनाे खाएर वार्षिक ११ हजार डलर बराबरकाे वातावरणीय सरसफाइकाे काममा योगदान दिने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्