मधेश प्रदेशमा विद्यालय कम, विद्यार्थी बढी

0
Shares

वीरगन्ज।

मधेस प्रदेशमा सामुदायिक विद्यालयको संख्यामा कमी आएको तर बिद्यार्थीहरुको संख्या भने बढी नै रहेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७९-८० अनुसार मधेस प्रदेशमा २.०२ प्रतिशतले कमी आएर विद्यालयको संख्या ३ हजार २५४ पुगेको पाइएको हो ।

राष्ट्र बैँकको प्रतिवेदनअनुसार मधेसमा सामुदायिक विद्यालयको संख्या घटेपनि विद्यार्थीको संख्यामा भने वृद्धि भएको छ। समीक्षा वर्ष अर्थात् २०७९-८० मा मधेसमा ६.६९ प्रतिशतले विद्यार्थीको संख्या वृद्धि भई १२ लाख ६९ हजार ७०४ पुगेको छ। विद्यालयको संख्या घटेसँगै शिक्षक–शिक्षिकाको संख्यामा समेत कमी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदन अनुसार समीक्षा वर्षमा मधेसमा १०.२३ प्रतिशतले शिक्षकको संख्यामा कमी आएपछि शिक्षकको संख्या १७ हजार २४ पुगेको छ। एकातर्फ सामुदायिक विद्यालयको संख्यामा कमी आएको छ भने अर्को तर्फ संस्थागत विद्यालयको संख्यामा ०.४१ प्रतिशतले वृद्धि भई ९ सय ६८ कायम भएको छ। यस्तै, संस्थागत विद्यालयमा शिक्षक-शिक्षिकाको संख्या २.७८ प्रतिशतले वृद्धि भई ७ हजार २१७ कायम हुँदा विद्यार्थीको संख्यामा कमी भएको छ।

राष्ट्र बैँकको प्रतिवेदन अनुसार संस्थागत विद्यालयमा १३.८१ प्रतिशतले कमी आई २ लाख ५० हजार ८३६ कायम भएको छ। यता, समीक्षा वर्षमा प्राविधिक शिक्षालय अन्तर्गत शिक्षालयको संख्यामा ५.२६ प्रतिशतले कमी आई १ सय २६ पुगेको छ। यस्तै, विद्यार्थीको संख्यामा समेत २.०२ प्रतिशतले कमी आई १० हजार ६८१ पुगेको छ भने शिक्षकको संख्यामा १.९२ प्रतिशतले वृद्धि भई ४ सय ७७ पुगेको छ।

 यसैबीच मधेस प्रदेशमा आर्थिक वर्ष २०७९-८० मा सरकारी र निजी दुवै अस्पतालको संख्यामा वृद्धि भएको राष्ट्र बैँकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। मधेसमा सरकारी अस्पतालको संख्या ४० प्रतिशतले वृद्धि भई २१ वटा पुगेको छ भने अस्पतालमा कार्यरत सरकारी चिकित्सकको संख्या २२ं४१ प्रतिशतले वृद्धि भई २ सय ९५ पुगेको छ।यस्तै, सरकारी अस्पतालको शय्या संख्या ९.८८ प्रतिशतले वृद्धि भई १ हजार ३३५ पुगेको छ। निजी अस्पतालको संख्या भने ८.८७ प्रतिशतले वृद्धि भई १ सय ३५ पुगेको छ। यस्तै, त्यहाँ कार्यरत चिकित्सकको संख्या १०.८८ प्रतिशतले वृद्धि भई ८ सय ६६ पुगेको छ भने, अस्पतालको शय्या ११.२६ प्रतिशतले वृद्धि भई २ हजार ६५८ पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ।