पार्टी प्यालेस व्यवसायलाई असर पार्ने ऐन संशोधन गर्न माग

0
Shares

 ललितपुर।

पार्टी प्यालेस र क्याटरिङ व्यवसाय सञ्चालनमा अवरोध पु¥याउने विभिन्न ऐनकानून, नीतिहरु संशोधन गर्न सम्बद्ध व्यवसायीहरूले माग गरेका छन् ।
नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको बिहीबार ललितपुरमा सम्पन्न सातौं वार्षिक साधारण सभा तथा दोस्रो महाधिवेशनको उद्घाटन सत्रमा उनीहरुले सो माग गरेका हुन्।

अर्थतन्त्र चलायमान बनाउनुपर्ने आवयकतालाई पुरा गर्न सो व्यवसायबारे सरकारले लिने निर्णय, कानुनहरू परिमार्जन गर्नुपर्ने उनीहरुको भनाई रहेको छ।
सभाको उद्घाटन गर्दै कानुन,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले पार्टी प्यालेस व्यवसाय राम्ररी सञ्चालन गर्न अवरोध हुने ऐन, नियमलाई पुनरावलोकन गर्न सरकार तयार रहेको बताए। मन्त्री गुरुङले करोडौं लगानी गरेर सञ्चालित व्यवसायको उत्थानको लागि सोही अनुरुप कानुन बनाउने पनि प्रतिबद्धता व्यक्त गरे।

महासंघका अध्यक्ष लिलाबहादुर जिसीले पार्टी प्यालेस व्यवसायलाई निर्देशित गर्ने ऐनको खाँचो रहेको औँल्याउँदै यसका पूर्वाधार, लगानी, रोजगारी, सेवा प्रवाहको आधारमा पार्टी प्यालेसको वर्गीकरण गर्नुपर्नेमा जोड दिए। उनले सामाजिक व्यवहार सुधार ऐन २०३३ पार्टी प्यालेस सञ्चालनमा तगारो रहेको बताउँदै त्यसलाई समय सापेक्ष बनाउनुपर्ने खाँचो औँल्याए।

महासंघका महासचिव उत्तमप्रकाश शर्माले यस व्यवसाय विशेषतः कृषिजन्य उत्पादनमा आधारित रहेको हुँदा कृषिलाई प्रर्वद्धन गर्ने नीति ल्याउन माग गरे।व्यवसायीहरूले घरजग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आएकोमा घरजग्गाको कर पनि व्यवसायीलाई तिर्न लगाउने र सम्झौता अवधि सकिनु अगावै विभिन्न बहानामा भाडामा अत्यधिक वृद्धि गर्ने गरेको जस्ता समस्याबाट व्यवसायीहरु मर्कामा परेको पनि महासचिव शर्माको भनाई रहेको छ ।

समारोहमा ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले व्यवसायीहरुबीच एकता र समन्वयलाई बलियो बनाउँदै लग्नुपर्ने बताए।
समारोहमा ललितपुर क्याटरिङ, रेण्टल तथा पार्टी प्यालेस संघलाई प्रंशसापत्र प्रदान गरिएको थियो।