लमजुङका नागरिकले लिए आमाको नामबाट नागरिकता

0
Shares

लमजुङ ।

लमजुङका नागरिकले आमाको नामबाट नागरिकता लिएको पाईएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङबाट १८ जनाले आमाको नामबाट नागरिकता लिएको हो । गत जेठमा राष्ट्रपति बाट नागरिकता विधयेक प्रमाणीकरण भएसँगै आमाको नामबाट नागरिकता लिनका लागि बाटो खुलेको हो ।

बाबुको पहिचान नभएका कारण नागरिकता लिनबाट बञ्चित भएका १८ जनाले आमाको नामबाट नागरिकता लिएका हुन् । जिल्लामा गत साउनको १२ गते पहिलो पटक आमाको नामबाट नागरिकता वितरण भएको जिल्ला प्रशासन कार्यालय लमजुङका सुचना अधिकारी जगदिश मिश्रले जानकारी दिनुभयाे ।

उहाँका अनुसार श्रावण र भदौ महिनामा चार-चार जनाले आमाको नामबाट नागरिकता लिएका छन् भने असोजमा ६ जना, कार्तिक र मंसिरमा दुई-दुई जनाले नागरिकता लिएका छन् ।

कानुनी व्यवस्था अनुसार बाबुको पहिचान नभएको अवस्थामा आमाको नामबाट नागरिकता वितरण गर्ने गरेता पनि कतिपय व्यक्तीको जन्मदर्ता, शैक्षिक प्रमाण पत्रमा बाबुको नाम उल्लेख भएको तर सम्पर्कमा नभएको अवस्थामा सहजै नागरिकता वितरण गर्न नसकिएको प्रजिअ अधिकारीको भनाई छ ।

कानुनी जटिलताको बाबजुत पनि आवश्यक प्रक्रिया पुरागरेका व्यक्तीहरुलाई भने नागरिकता पाएसँगै सहज भएको प्रजिअ अधिकारीले बताउनुभयो । खासगरी नागरिकताकै अभावमा अध्ययन, रोजगारी एवं अन्य सरकारी तथा गैरसरकारी सेवा प्रवाहमा समस्या भोग्दै आएका व्यक्तीहरुलाई नागरिकता पाएसँगै सवै सेवा प्रवाहमा सहज पहुँच पुगेको प्रजिअ अधिकारीको भनाई छ ।

आमाको नामबाट नागरिकता वितरण सँगै जिल्ला प्रशासन कार्यालय लमजुङबाट अहिलेसम्म आठजना गैर आवसिय नेपालीले पनि नागरिकता लिएका छन् । प्रशासन कार्यालय लमजुङका अनुसार सरकारले गैर आवसिय नागरिकलाई नागरिकता वितरण गर्ने प्रावधान ल्याएसँगै जिल्लामा कार्तिकबाट सो प्रकारको नागरिकता वितरण शुरु भएको हो ।

जिल्लामा कार्तिकदेखि हालसम्म आठ जनाले गैर आवसिय नागरिकता लिएकोमा मंसिर महिनामा मात्रै ६ जना र कार्तिकमा दुईजनाले सो प्रकृतिको नागरिकता लिएको प्रशासन कार्यालय लमजुङले जनाएको छ ।