काठमाडौको भक्तपुरमाथि १ सय ९१ रनको जित



काठमाडौं ।

बागमती प्रदेश छनोटअन्तर्गत प्रतियोगितामा काठमाडौले फराकिलो जित हासिल गरेको छ। बुधबार भएको खेलमा काठमाडौले भक्तपुरलाई १ सय ९१ रनको विशाल अन्तरले हराएको हो।

जितको लागि ३ सय ५ रनको विशाल विजयी लक्ष्य दिइएकोमा भक्तपुरको इनिङ २८ ओभरमा १ सय १३ रनमा समेटिएको थियो। भक्तपुरका लागि अभिनाश बश्यालले सर्वाधिक २५ रन जोडेका थिए।

उनी नटआउट भए पनि अर्को इन्डबाट उनलाई कसैबाट पनि सहयोग प्राप्त भएन। काठमाडौंको बलिङमा सोनु देवकोटाले सर्वाधिक ४ विकेट लिए। यस्तै मनोज यादवले ३, प्रतिश जि.सीले २ र राकेश कर्णले १ विकेट लिएका थिए ।

त्यसअघि तल्लोमुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले ४० ओभरमा अलआउट हुँदै ३ सय ४ रन बनाएको थियो। टोलीका लागि रोविन जोशीले सर्वाधिक ९५ रन बनाए । ७५ बलमा १२ चौका र २ छक्का प्रहार गरेपनि उनी ५ रनले शतकबाट चुकेका थिए।

अन्य खेलाडीमा हरि चौहानले ८ चौका र १ छक्काको सहयोगमा ६० रन बनाए । यस्तै सोनु देवकाटाले ३१, राकेश कुमार कर्ण २९, इशान पाण्डे २८, रित गौतम २३ र शरद भेषावकर ४ रनमा आउट भएका थिए।

यसमध्ये सोनुले १२ बलको सामना गर्दा ४ छक्का प्रहार गरेका थिए। भक्तपुरका धिरेन्द्र कुमार बस्नेतले ३, कृष कार्कीले २ तथा विज्ञान गौतम, सुवास खत्री, अभिनाश बश्याल र केशव साउदले १–१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत चितवनको रंगशालामा भएको खेलमा चितवनले मकवानपुरलाई ७ विकेटले हराउँदै सेमिफाइनलको यात्रा तय गर्‍यो। भरतपुरमा जारी समूह बी को खेलमा चितवनले ६२ रनको सामान्य लक्ष्य १४.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो।

चितवनको जितमा सुर्यांशु कोइराला १६, रोशन झा १३ र गौतम केसीले १८ रन बनाए । मकवानपुरका पियुश शर्मा र साकार गजुरेलले १–१ विकेट लिए ।

त्यसअघि गौतम बुद्ध रंगशालाको नमुना मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मकवानपुर २४.५ ओभरमा ६१ रनमा अल आउट भयो।

टोलीका लागि शुभ कंस्कार र सुमन सुनारले सर्वाधिक ११–११ रन बनाए। बागमतीका कृर्जन गुरुङले ४, नरेश र डानिस इकबालले २–२ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्