एपीएफले जित्यो पीएम कप



काठमाडौं ।

नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल खेलमा एपीएफले कोशीलाई ११ रनले हराएको हो।

योसँगै विजेता टोलीले ५ लाख र उपविजेता टोलीले ३ लाख नगद पुरस्कार प्राप्त गरे। पहिले ब्याटिङ गरेको एपीएफले १ सय १५ रनको सामान्य विजयी लक्ष्य कोशीको सामु राखेको थियो।

कोशीले अन्तिमसम्म कोशिस गरे पनि १ सय ३ रनमा समेटियो। टोलीका लागि कप्तान रुबिना क्षेत्रीले शानदार ६२ रन बनाए पनि उपाधि दिलाउन उनी असमर्थ भइन् । कोशीका अन्य खेलाडीमा काजल श्रेष्ठले २२, अप्सरी बेगमले ८, लकिता राजवंशीले ६ र सवनम राईले अविजित २ रन बनाए । एपीएफको बलिङमा सीता राना मगर र करुणा भण्डारीले १/१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले १ सय १४ रनको योगफल तयार गरेको थियो। टोलीका लागि इन्दु बर्माले सर्वाधिक ५३ रन जोडिन्। यस्तै, ज्योति पाण्डेले २७, रोमा थापाले १४ रन बनाइन्।

सरिता मगर ९ र करुणा भण्डारी २ रनमा अविजित रहे। बलिङ तर्फ कोशीका लागि अप्सरी बेगमले प्रतियोगिताकै पहिलो ह्याट्रिक विकेट लिइन्। अलिसा खडियाले २ विकेट लिइन् । रुबिना क्षेत्री र निशा शाहले १/१ विकेट लिए।

कोशीले पहिलो क्वालिफायर्समा एपीएफसँग ५२ रनले पराजित हुँदै दोस्रो एलिमिनेटरमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। यसै प्रतियोगितामा कोशी तेस्रोपटक एपीएफसँग नै पराजित भएको हो।

कोशीकी कप्तान रुबिना क्षेत्री बेलबासे सवोत्कृष्ट खेलाडी चुनिएकी छिन्। कोशीलाई फाइनलसम्म पुर्‍याउन रुबिनाले सानदार अलराउन्ड प्रदर्शन गरेकी थिइन्। उनले यामाह १२५ सिसीको स्कुटर प्राप्त गरेकी छन्। रुबिनाले यस प्रतियोगितामा १० खेलमा ३ अर्धशतकसहित कुल ३ सय ४५ रन बनाइन्। रुविनाले बलिङमा ११ विकेट लिएकी थिइन् ।

यसैगरी, उत्कृष्ट ब्याटरमा गण्डकी प्रदेशकी सुमन खतिवडा घोषित भइन्। सुमनले ७ खेलमा २ सय १२ रन बनाएकी थिइन्। मधेस प्रदेशकी पूजा महतो उत्कृष्ट बलर घोषित भइन् । पुजाले ७ खेलमा २६.३ ओभरमा ४ मेडनसहित ९६ रन खर्चेर १२ विकेट लिएकी थिइन्। उनीहरुले समान ५० हजार नगद पुरस्कार पनि प्राप्त पनि गरे।

त्यस्तै, उदीयमान खेलाडीमा गण्डकीकै ज्योत्स्निका मरासिनी घोषित भइन् । ज्योत्स्निकाले ९१ रन बनाएकी थिइन् । ज्योत्स्निकाले कर्णालीविरुद्ध अर्धशतक पनि प्रहार गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्