भारतको अन्तिम ६ विकेट विना रनमा आउट भए



एजेन्सी ।

दक्षिण अफ्रिकालाई ५५ रनमा अलआउट गरेको भारतले जवाफमा १ सय ५३ रन मात्रै बनाउन सक्यो। दक्षिण अफ्रिकाको केपटाउनमा भएको दोस्रो टेस्टको पहिलो दिन घरेलु टोलीको ब्याटिङ निकै खराब भएको थियो।

भारतीय बलर मोहम्मद सिराजले १५ रन दिएर ६ विकेट लिएपछि दक्षिण अफ्रिकाको ब्याटिङ धर्मराएको थियो। उनीहरूले २३.२ ओभरसम्म खेल्न सकेका थिए।

जवाफमा भारतको ब्याटिङ राम्रै चलिरहेको थियो। १ सय ५३ रनमा ४ विकेट गुमाएको अवस्था थियो र दक्षिण अफ्रिकामाथि ९८ रनको अग्रता लिएको थियो। तर, बाँकी ६ विकेट विना रन जोडेर आउट भएपछि भारतीय टोलीको पहिलो इनिङ १ सय ५३ रनमै समेटियो। योसँगै बुधबार पहिलो दिनमै २० विकेट पतन भएको थियो।

भारतका ६ जना ब्याटर शून्यमै आउट भएका थिए । लुंगी एन्गीडीले ३४ औं ओभरमा तीन विकेट हात पारेपछि नै भारतीय ब्याटिङले विश्राम लिन थालेको थियो। केएल राहुल एन्गीडीको पहिलो शिकार बने।

यसपछि रविन्द्र जडेजा र जसप्रीत बुमराहलाई उनले पभेलियनको बाटो देखाएका थिए। भारतको तर्फबाट विराट कोहलीले सर्वाधिक ४६ रन बनाए। उनलाई कागिसो राबाडाले आउट गरेका थिए । सिराज रनआउट भएका थिए । राबाडाले पनि तीन विकेट लिएका थिए ।

दुवै टोलीको गरी टेस्ट इतिहासमा न्यूनतम रन बनेको यो पहिलो अवसर पनि हो। दुवैले गर्दा ५८.१ ओभरमा केवल ३ सय ४९ बल मात्रै फयाँकिएको थियो । रन भने दुवै टोलीको जोड्दा २ सय ८ रन बनेको थियो।

यसअघि, दक्षिण अफ्रिकाको पहिलो इनिङमा भेरीननको १५ रनमै उच्चतम योगदान बनेको थियो । दक्षिण अफ्रिकाको टेस्ट इतिहासमा यसरी न्युनतम रन बनेको करिब ९२ वर्षपछि हो।

सन् १९३२ मा मेलबर्नमा दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्ध ४५ रन बनाएको थियो। दक्षिण अफ्रिकाले भारतविरुद्धको दुई टेस्टको सिरिजमा १–० को अग्रता लिएकोले पनि यो टेस्ट हारेमा पनि सिरिज गुमाउने छैन।

प्रतिक्रिया दिनुहोस्