शिशु मृत्युदर घटाउन ‘ह्युमन मिल्क बैंक’ प्रसूति गृहमै खुम्चियो

0
Shares

काठमाडौं ।

अस्पतालका नवजात संघन उपचार केन्द्र (एनआईसीयू) मा भर्ना हुने अवधि नपुगी जन्मिएका र कम तौल भएका नवजात शिशुहरूमध्ये करिब १० देखि १५ प्रतिशतको अवस्था स्तनपान गर्न नसक्ने किसिमका हुन्छन्।

त्यस्तै, कतिपय सुत्केरी आमा बिरामी परेको वा सुत्केरीको दूध नआएको अवस्थामा पनि नवजात शिशु आमाको दूध खानबाट वञ्चित हुन्छन्।

त्यस्ता शिशुको ज्यान बचाउन र उनीहरूको शारीरिक तथा मानसिक विकासमा टेवा पुर्‍याउन दाता आमाबाट संकलन गरिएको दूध वैज्ञानिक विधिबाट भण्डारण गरी आवश्यक परेको बेला उपलब्ध गराउन ‘ह्युमन मिल्क बैंक’ अर्थात् आमाको दूध संकलन केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।

त्यति मात्रै होइन, दूध धेरै आएर दुहेर खेर फाल्नुपर्ने अवस्थाका सुत्केरी महिलाको दूध खेर नफाली आवश्यक पर्ने शिशुलाई उपलब्ध गराउन पनि यो दूध संकलन केन्द्र स्थापना आवश्यक छ।

अन्य देशहरूमा यस्तो ‘मिल्क बैंक’ धेरै अघि नै कार्यान्वयनमा रहेको भए तापनि नेपालमा भने युनिसेफको सहयोगमा वि.सं.२०७९ भाद्र ३ गते परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, थापाथलीमा स्थापना गरिएको हो।

अमृत कोष नाम दिइएको उक्त बैंकको स्थापनासँगै यस्तो बैंकको विस्तारको आवश्यक्ता महसुस गरी ७७ ओटै जिल्लामा स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरूलाई दूध संकलन कार्यबारे तालिम प्रदान गरिएको थियो। तर, आमाको दूध संकलन केन्द्रको सेवा प्रसूति गृहमै मात्र खुम्चिएको छ।

पुगेको अन्यत्र विस्तार भने भएको छैन। जसका कारण अहिले पनि धेरै नवजात शिशुहरूलाई आमाको दूधको साटो दूधदानीबाट दूध प्रतिस्थापन गर्ने शिशु आहार सेवन गराइएको छ।

एक तथ्यांकका अनुसार नेपालका ६ देखि ५९ महिनाका बालबालिकामा कुपोषणको अवस्था उच्च रहेको छ। सन् २००१–२०२२ सम्मको तथ्यांकमा केवल ५५ प्रतिशत नवजात शिशुले मात्रै जन्मेको १ घण्टाभित्र स्तनपान गर्ने गरेका छन्।

जसअनुसार अझै पनि ४५ प्रतिशत नवजात शिशु स्तनपानबाट वञ्चित छन्। यसबाट मिल्क बैंक विस्तार टड्कारो रहेको देखिन्छ। स्वास्थ्य सर्वेक्षण २०२२ मा उल्लेख भएअनुसार जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान गर्ने शिशुको प्रतिशत ५६ रहेको छ।

नेपालमा ६ महिनासम्मका शिशुको पूर्ण स्तनपानको अवस्था प्रदेशअनुसार छ। सन् २०२२ को जनसांख्यिक सर्वेक्षणले सातै प्रदेशमा स्तनपान गराउनेको संख्याभन्दा दूधदानीबाट बजारमा उपलब्ध गाईवस्तुको दूध वा दूधलाई प्रतिस्थापन गर्न बनेको शिशु आहार खुवाउनेको संख्यामा वृद्धि भएको देखाएको छ।

स्तनपान गर्ने शिशुको संख्या कोशी प्रदेशमा ५३ प्रतिशत, मधेसमा ६५, वागमतीमा ४३ र गण्डकीमा ६४ प्रतिशत रहेको छ। स्तनपान गराइएको शिशुको संख्या सबैभन्दा कम लुम्बिनी प्रदेशमा ३६ प्रतिशत र सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिम प्रदेशमा ७४ प्रतिशत रहेको छ। यो तथ्यांकले कुल ५६ प्रतिशत नवजात शिशुले मात्र जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान गरेको देखाएको छ।

त्यसैगरी नवजात शिशुलाई दूधदानीबाट गाईबस्तुको दूध वा दूधलाई प्रतिस्थापन गर्ने शिशु आहार खुवाउनेमा अग्रस्थानमा वागमती प्रदेश देखिन्छ। वागमती प्रदेशमा यस्ता शिशुको प्रतिशत ४३ रहेको छ।

त्यस्तै, यस्तो आहारको प्रयोग सबैभन्दा कम अर्थात् ११ प्रतिशत गर्ने कर्णाली प्रदेश बनेको छ। त्यसै गरी कोशी प्रदेशमा यस्तो शिशुको प्रतिशत २५, मधेस प्रदेशमा १२, गण्डकीमा २७, लुम्बिनीमा २४ र सुदूरपश्चिम प्रदेशमा १५ प्रतिशत रहेको सर्वेक्षणको प्रतिवेदनमा उल्लेख छ।