च्याब्रुङ नाचमा पाँचथर विजयी



ताप्लेजुङ ।

चासोक तङ्नामको अवसरमा आयोजित च्याब्रुङ नाच (केलाङ) प्रतियोगिताको उपाधि भिमाले याक्थुङ केलाङ सयङ याङवरक–२, पाँचथरले जितेको छ।

आफ्नो संस्कृतिको संरक्षण प्रवर्द्धन गर्नका लागि आयोजना गरिएको च्याब्रुङ प्रतियोगितामा सहभागी ५ टिमलाई पछि पार्दै उपाधि जितेको याङवरकले पुरस्कारवापत नगद ५० हजार प्राप्त गरेको छ।

विवाह, उत्सवजस्ता शुभ कार्यमा बजाइने च्याब्रुङको प्रतियोगिताका लागि कम्तीमा १६ जना हुनुपर्ने र शुरु गरेको १५ मिनेटको समयमा समापन गरिसक्नुपर्ने नियम थियो।

भानुजन माविको मैदानमा सम्पन्न प्रतियोगिताको उप–विजेता आनी साक्थिम प्रशिक्षण केन्द्र ताप्लेजुङ बनेको छ। आनी साक्थिमले ३० हजार नगद जितेको छ। ताप्लेजुङकै किरात याक्थुम चुम्लुङ लिम्बू कलाकार परिषद् तृतीय भई २० हजार नगद प्राप्त गरेको छ।

च्याब्रुङमा नाच्दाको शैली, त्यो बेला हालिने भाका, खुट्टाको चाल, भेषभूषा, च्याब्रुङ नाचलाई राखिने सगुनलगायतका विषय हेरेर निर्णय गरिएको निर्णायक मण्डलका सुरज मादेनले जानकारी गराएका थिए। निर्णायक मण्डलमा मादेनसहित गणेश सेनेहाङ लिम्बू र सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराई थिए।

लिम्बू बहुल समाजमा सबै प्रकारका शुभकार्यमा च्याब्रुङको प्रयोग हुने गर्दछ। खास गरेर नयाँ घर बनाएपछि लिम्बू परम्पराअनुसार गरिने अक्वामाको पूजामा र विवाह समारोहमा च्याब्रुङ बजाएर च्याब्रुङको धुनसँगै खुट्टाको चालमा महिला तथा पुरुष लहरै नाचिरहेका देखिन्छन्।

अक्वामा पुजामा नयाँ घरको मूल खम्बाको वरिपरि च्याब्रुङ बजाउँदै नाचिन्छ भने विवाह उत्सवमा खुला चौरमा सामूहिक नाच गरिन्छ। च्याब्रुङ पुरुषले भिरेका हुन्छन्। महिलाले भने च्याबु्रङ बोकेको पाइँदैन। तर, महिला पनि तालमा ताल मिलाएर नाच्ने गर्दछन्।

खोक्रो काठको मुढामा दुवैतिरको छालाले मोरेर बनाइएको बाजा नै के अर्थात् च्याब्रुङ हो। यसलाई गलामा छालाको डोरी झुन्ड्याएर छातीमा अड्याएपछि एकातिर हत्केला र अर्कोतिर छोटो चेप्टो लठ्ठीले हिर्काएर धुन सिर्जना गरिन्छ।

यसैगरी, लिम्बू कुल गुरु येवा, येमा र सान्बाले गुरु पूजा गर्दा याग्राङसिंग गाडेर अनुष्ठान गर्दा च्याबु्रङ बजाउने प्रचलन छ। यसबाहेक घरप्रचौ, स्वागत सत्कारमा यो बाजा बजाउने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्