नेपाल अझै पनि बारुदी सुरुङको चपेटामा



काठमाडौँ  । 

नेपाललाई बारुदी सुरुङ मुक्त मुलुकको रुपमा घोषणा गरेको १२ वर्ष बितेको छ । राज्यले मुलुकलाई बारुदी सुरुङ मुक्त देश घोषणा गरेको १२ बर्षमा बारुदी सुरुङमा परेर २१ जनाको मृत्यु भएको छ भने १सय ४ जना घाइते भएका छन् ।

नेकपा माओवादीले २०५२ फागुन १ गतेदेखि शुरु गरेको युद्धका क्रममा देशका विभिन्न भागमा राखिएको बारुदी सुरुङको असर अहिले देशब्यापी रुपमा रहेको बारुदी सुरुङ प्रतिबन्ध अभियानले जनाएको छ ।

२०५२ साल फागुन देखि २०६२ साल भदौंसम्म बारुदी सुरुङमा परेर सुरक्षाकर्मी, सर्वसाधारण गरी ५सय २९ जनाको मृत्यु भएको थियो भने १ हजार २ सय ७३ जना घाइते भएको पनि अभियानले जनाएको छ ।

नेपालमा बारुदी सुरुङको अवस्थाको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल अझै पनि बारुदी सुरुङको चपेटामा परेको र यसको नियन्त्रण तथा रोकथामकालागि राज्यले जति सचेतना फैलाउनु पर्ने थियो त्यो गर्न नसकेको अभियानकी संयोजक पूर्णशोभा चित्रकारले जानकारी दिए ।
माईन तथा बिष्फोटक पदार्थमा परि मृत्यु भएकाको परिवार, घाईते तथा अपांगता भएको व्यक्तिको स्वास्थ्य, शिक्षा, रोजगारी, पुनःस्थापना, आर्थिक पुनःएकीकरण, परिपुरण जस्ता समस्याहरुले उनीहरुलाई निरन्तर पिरोलिरहेको  पनि उनले जानकारी दिए ।

सत्य तथा मेलमिलाप आयोगको माध्यमबाट पीडक र पीडितको परिभाषाले तत्कालिन सुरक्षाकर्मीहरुलाई थप पीडित बनाएको छ । द्धन्दको कारणले द्वन्द्व पछि पनि बारुदी सुरुङ र बिष्फोटक पदार्थबाट मृत्यु, घाईते तथा अपागंता भएका व्यक्तिलाई पनि द्वन्द्व पीडित सरह मान्यता सहितको विधेयक अलपत्र पर्दा हतियारबाट पीडितलाई थप पीडित बनाएको पनि अभियानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्