कालिकाेटमा वडाअध्यक्ष विश्वकर्मामाथि जातीय भेदभाव गर्ने एकजना पक्राउ

0
Shares

कालिकोट ।

जिल्लाको पचालझरना गाउँपालिका–२ का वडाअध्यक्ष ४१ वर्षीय करबीरे बिश्वकर्मा माथि जातीय विभेद गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका–१ का ४४ वर्षीय गोकुल बोगटीलाई शनिबार पक्राउ गरेको छ ।

स्वास्थ्य चौकीको बिषयलाई लिएर बदालकोट स्वास्थ्य चौकीका कार्यालय सहयोगी समेत रहेका बोगटीले सामाजिक सञ्जाल फेसबुक र मोवाइल फोनमा वडाअध्यक्ष बिश्वकर्मालाई जातीय विभेद गरेको भन्दै पीडित विश्वकर्माले पुष १२ गते प्रहरीमा उजुरी दिएपछि प्रहरीले घरवाटै गिरफ्तार गरि हिरसतमा राखिएको कालिकोटका प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले जानकारी गराएका हुन् ।

उनका अनुसरा कार्यालय सहयोगी बोगटीले फेसबुक स्टाटसको कमेन्ट बक्समा ‘ए डुम कोमारा’ भन्दै गाली गरेको र फोन कलमा घरमा बम पड्काउने र मार्ने समेत धम्की दिएको रेकर्डसहित पीडितको उजुरी आएपछि प्रहरीले घटनाका अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको छ ।

पीडित वडाध्यक्ष विश्वकर्माले आफूमाथि भेदभाव भएको भन्दै जातीय छुवाछूत तथा भेदभाव सम्बन्धि कसुर सजाँए ऐन २०६८ र संसोधित २०७५ अनुसार कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएका थिए । नेपालको संविधान २०७२ को भाग ३, धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको मौलिक हकमा जातीय भेदभावविरुद्ध दण्डनीय व्यवस्था गरेको छ ।

जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ मा कसुर र विभेदको अवस्था हेरेर तीन महिनादेखि ३ वर्षसम्म कैद, एक हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

जनप्रतिनिधि माथिनै जातीय विभेद भएको भन्दै कालिकोटका दलित अधिकारकर्मी,मानव अधिकारकर्मीले चर्काे विरोध जनाएका छन् । आरोपित बोगटीले आफूले जातीय भेदभाव गर्ने उद्देश्यले टेलिफो र समाजिक सञ्जालमा नभनेको प्रतिक्रिया दिएका छन् ।