भूगोल केन्द्रीत साङ्गठनिक अभियानमा युनिकम नेपाल



काठमाडौं ।

नेपाल व्यापार कर्मचारी सङ्घ (युनिकम नेपाल) ले भूगोल केन्द्रित सङ्गठन विस्तारलाई तीव्रता दिएको छ। व्यवसायिहरुको अधिकार प्राप्तिसँगै देशको अर्थव्यवस्था सुधारमा योगदान गर्दै आएको युनिकम नेपालले विभिन्न प्रदेश तथा जिल्ला समितिहरू गठन तथा अधिवेशनको अभियानलाई तीव्र बनाएको हो।

अभियान अन्तर्गत शनिबार बबरमहलस्थित साफ फल्चामा बागमती प्रदेश अधिवेशन,उपत्यका समन्वय समितिमा गठन र काठमाडौं जिल्ला कार्यसमितिको अधिवेशन सम्पन्न भएको छ।

बागमती प्रदेश अधिवेशनबाट खेम चौलागाईको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन भएको छ। वरिष्ठ उपाध्यक्षमा मिलन खनाल, उपाध्यक्ष नारायण खनाल,महिला उपाध्यक्षमा सरिता सिवाकोटी,सचिव कृष्ण भट्ट र कोषाध्यक्षमा साकार लुइँटेल सर्वसम्मत चयन भएको युनिकमका महासचिव लेखनाथ दाहालले जानकारी दिए।

दाहालका अनुसार उपत्यका प्रदेश समन्वय समितिमा मिनराज पौडेलको संयोजकत्वमा पाँच सदस्य समिति गठन गरिएको छ भने काठमाडौं जिल्ला अधिवेशनबाट कोमल थापाको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।

झापाबाट सुरु भएको आन्दोलन अहिले देशव्यापी पुगेको नेपाल युनिकमका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेले बताए। ‘यो अभियान विचारले विभाजन छैन’, उनले भने–‘ संस्थामा राजनीतिक दृष्टिकोणले सबैको विचार फरक-फरक भएपनि यो संस्थाका गतिविधिमा स्वतन्त्रता प्रस्तुत गनृ सक्नु नै हाम्रो सफलता हो।’

विभिन्न व्यापार व्यवसायमा आबद्ध कर्मचारीहरूको सेवा सुविधा, नियमित पारिश्रमिक र रोजगारीको सुनिश्चितताका लागि काम गर्दै आएको युनिकमलाई संस्थागत गर्दै यहाँसम्म ल्याउन सबैले सकारात्मक भूमिबाट सम्भव भएका उनको भनाइ छ।

मार्केटिङ,डिपार्टमेन्ट, थोक तथा खुद्रा, मेडिकल, लगायत १० वटा विषयगत क्षेत्रमा आबद्ध कर्मचारीका सङ्गठनहरू युनिकममा आबद्ध रहेको महासचिव लेखनाथ दाहाललले बताए।

आगामी वर्ष सबै व्यापारी तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने योजना बनाएको उनको भनाइ छ । युनिकमको महाधिवेशन चैतको तेस्रो हप्ता गर्ने गरी तयारी गरिएकाले यसको पुर्वतयारी स्वरूप देशभर सङ्गठनलाई सुदृढ बनाउन लागिएको बताइएको छ।

हाल युनिकममा ५ हजार सदस्यता रहेको दाबी गरेको छ। युनिकमले अधिवेशनसँगै सदस्यहरूका लागि नेतृत्व क्षमता विकासका विविध आयाममा तालिम समेत गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्