प्रधानमन्त्री र गृहमन्त्रीलाई १६ प्रश्न

हत्याको विरोधमा रास्वपाको ‘जवाफ चाहियो सरकार’ कार्यक्रम



काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीको र्‍याट विभागले ललितपुरको बालकुमारीमा प्रहरीबाट शुक्रबार दुई युवाको निर्मम हत्या भएपछि त्यसको विरोधमा ‘जवाफ चाहियो सरकार’ कार्यक्रम आयोजना गरी प्रधानमन्त्री र गृहमन्त्रीसँग विभिन्न १६ वटा प्रश्न सोधेको छ।

रास्वपाले हत्या भएकै क्षेत्रमा शनिबार आयोजना गरेका विरोध कार्यक्रममा सहभागी नेता कार्यकर्ताले प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला बनाएर विभिन्न प्रश्नहरू सोधेका थिए । कार्यक्रममा रास्वपा नेताहरूले गृहमन्त्रीलाई बर्खास्त गर्नसमेत माग गरेका थिए।

प्रधानमन्त्रीलाई सोधिएका प्रश्न

–रोजगारीका लागि विदेश जान पनि विभेद नहोस् भन्नेलाई किन गोली हानेर मार्न लगाउनुभयो प्रधानमन्त्रीज्यू ?
–नागरिकको ‘हत्या’का लागि गोली बर्साउन आदेश दिने गृहमन्त्रीलाई कहिले बर्खास्त गर्नुहुन्छ ?
–सरकार सामान्य प्रदर्शन पनि घातक बल प्रयोग नगरी रोक्न नसक्ने कमजोर अवस्थामा पुगिसकेको हो ?
–जनताको दुहाई दिएर सत्तामा पुग्नेले जनता नै किन मार्छन् ?
–मन्त्रीकै सवारी साधन जोगाउन नसक्ने सरकारले नागरिकलाई सुरक्षा दिन्छ भनेर कसरी पत्याउने ?
–सरकारले समयमै माग सम्बोधन नगर्दा ज्यान गुमाएका युवाको आत्माले पिरोल्दा कसरी मन शान्त बनाउनुहुन्छ ?
–गोली हानेर, मान्छे मारेर समस्याको समाधान खोज्ने कस्तो लोकतान्त्रिक शासन हो यो ?
–निराशाले तड्पिएका युवालाई गोली उपहार, दिनदहाडै जनता मार्ने सरकार किन चाहियो ?
–भ्रष्टाचार र अनियमितता मौलाउँदा युवा बेरोजगारी, जनता मार्दै शासन गर्ने कस्तो नियत सरकार ?
–इलम गर्न पाऊँ भन्नेलाई सरकार किन दिन्छ गोली, यस्तै शासक रहिरहे व्यवस्थै मासिएला भोलि!

गृहमन्त्रीलाई सोधिएका प्रश्न
–शुक्रबारको घटनापछि तपाईं यो देशको गृहमन्त्री भइरहनुपर्ने एउटा मात्रै कारण देखाइदिनु न गृहमन्त्रीज्यू ?
–दुई युवा देश छोड्न खोज्दै थिए, संसार छोड्न बाध्य बनाइदिनु भयो है, किन गृहमन्त्रीज्यू ?
–आन्दोलनलाई नियन्त्रण गर्न शुरूमै गोली चलाउने आदेश किन दिनुभयो ?
–आन्दोलन हुँदैछ भन्ने थाहा हुँदाहुँदै भौतिक मन्त्रीलाई तपाईंको प्रहरी प्रशासनले किन त्यो बाटोबाट पठायो ?
–तपाईंले गरेको काम र तपाईंका मातहतमा रहेको निकायले गरेको कामको छानबिन पनि त्यही निकायले गर्दा निष्पक्ष हुन्छ भनेर हामीले पत्याइदिनु पर्ने हो ?
–ज्यान लिनेलाई निलम्बन मात्रै ! फौजदारी अभियोग लगाउने हिम्मत किन आएन गृहमन्त्रीज्यू ?

प्रतिक्रिया दिनुहोस्