तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना

0
Shares

काठमाडौं ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ।

साथै तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हिमपात तथा तराईका भू-भागमा बिहानीपख हुस्सु र कुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।