पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता माघमा हुने

0
Shares

काठमाडौं । 

नेपाल स्की संघको आयोजनामा माघको दोस्रो साता पाँचौँ राष्ट्रिय प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुनेछ । प्रतियोगितामा अल्पाइनको जायन्ट स्लालम विधामा प्रतिस्पर्धा हुने र त्यसमा पुरुष तथा महिलाको प्रतिस्पर्धा समावेश गरिएको शुक्रवार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

प्रतियोगिताका लागि आयोजना हुने प्रशिक्षणमा ५० जनाको सहभागिता गराइने र त्यसमध्ये उत्कृष्ट हुने खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएको छ । प्रशिक्षण मुक्तिनाथको प्रतियोगिता स्थलमै हुनेछ ।

यस प्रतियोगितामा सन् २०२४ को जनवरी–फेब्रुअरीमा दक्षिण कोरियाको गाङवनमा हुने युथ ओलम्पिक्समा नेपालका तर्फबाट छनोट भएका छोवाङ मिन्गुर तामाङ र लक्ष्मी राईले पनि सहभागिता जनाउने छ।

प्रतियोगिताका विजेता खेलाडीलाई पदक र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै, विजयी खेलाडीलाई थप प्रशिक्षण प्रदान गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता गराइनेछ । सन् २०२४ मा नेपालले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

यो प्रतियोगितामा नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद, गण्डकी खेलकुद परिषद र नेपाल पयर्टन बोर्डको साथ रहने छ । त्यसैगरी मनकामना केबल कार र पोडवे नेपालले प्रायोजन गर्ने भएको छ ।