नेपाली सेनाको रिक्त रथी पदमा निर्मल थापाको नाम सिफारिस

0
Shares

काठमाडौं ।

नेपाली सेनाले रिक्त रथी पदमा उपरथी निर्मल थापाको नाम सिफारिस गरेको छ । रथी सिताराम खड्काले ३ पुसमा अवकास पाएसँगै सेनाको बढुवा समितिले उनको ठाउँमा वरीयतामा अघि रहेका उपरथी थापाको नाम सिफारिस गर्दै सात दिने सूचना प्रकाशित गरेको हो ।

सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले सेनाको रथी बढुवाको सात दिने सूचना बुधवार प्रकाशित भएको जानकारी दिए । सेनामा दुई रथीको दरबन्दी रहेको छ । यसअघि उपरथी अशोकराज सिग्देलको रथीमा बढुवासँगै उनी भावी प्रधानसेनापतिको लाइनमा बसिसकेका छन् ।

 उपरथी थापा हाल सिरिया र जोर्डनबीचको गालान हाइटमा रहेको अनडोफ मिसनमा फोर्स कमाण्डरका रुपमा कार्यरत छन् । थापाको शैक्षिक योग्यताको प्रमाणपत्रमा कैफियत रहेको भन्दै प्रश्न उठे पनि उनको बढुवाको लागि सात दिने सूचना प्रकाशित भएको हो । थापा रथीमा बढुवा भए फोर्स कमाण्डरका रुपमा मिसनमै रहनेछन् । उनी तीन वर्षका लागि फोर्स कमाण्डर नियुक्त भएका थिए ।