अमेरिकामा पिकअपसँग कार ठोक्किँदा ६ भारतीय नागरिकको मृत्यु

0
Shares

टेक्सास ।

अमेरिकाको टेक्सासमा भएको सडक दुर्घटनामा ६ जना भारतीयको मृत्यु भएको छ । आन्ध्र प्रदेशका एक एनआरआई परिवारका ६ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन ।

सो दुर्घटना क्रिसमसको भोलिपल्ट २६ डिसेम्बरमा भएको हो, जुन परिवार आन्ध्र प्रदेशको अमलापुरमबाट अमेरिकामा बसोवास आएका हुन । र, उनीहरू सत्तारुढ वाईएसआर कांग्रेस पार्टीका विधायक पोन्नडा वेंकट सतीश कुमारका आफन्तसमेत हुन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार मारिएका व्यक्ति गत मंगलबार टेक्सासस्थित अर्का आफन्तको घरमा गएका थिए । त्यसपछि सबैजना स्थानीय चिडियाखाना गए र त्यहाँबाट मिनी भ्यानमा घर फर्किरहेका थिए । सोही क्रममा जोन्सन काउन्टी नजिकै एउटा पिकअप ट्रकले उनीहरू सवार कारलाई ठक्कर दिएको छ।

सो दुर्घटनामा परी मिनी भ्यानमा सवार ६ जनाको मृत्यु भएको छ भने लोकेश नामका एकजना भने जीवित रहेका छन् । तर, उनको अवस्था निकै नाजुक रहेको जनाइएको छ । सोही क्रममा पिकअपमा सवार दुवै जना घाइते भएका छन् र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ । पिकअप ट्रक गलत दिशामा गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार घाइतेहरूलाई हेलिकप्टरबाट मेडिकल सुविधामा लगिएको थियो तर तीमध्ये ६ जनाको अस्पतालमा पुगे पछि मृत्यु भएको घोषणाा गरिएको थियो। मृतकहरूको पहिचान विधायक पोन्नडा वेंकटका सतीश कुमारका काका पी नागेश्वर राव, सीता महालक्ष्मी, नवीना, कृतिक र निशिताको रूपमा गरिएको छ। छैटौं व्यक्तिको नाम भने खुल्न सकेको छैन ।

विधायक पोन्नाडा वेंकट सतीश कुमारले भने, ‘मेरो काका क्रिसमस मनाउन आफन्तको घर गएका थिए। डिसेम्बर २६ मा उहाँहरू बिहान चिडियाखाना गए र स्थानीय समय अनुसार ४ बजे घर फर्कनुभयो। बाटोमा एक गलत साइडबाट आउँदै गरेको पिकअप ट्रकले ठक्कर दियो र सो दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको थियो।हामी शव ल्याउने प्रयास गरिरहेका छौँ ।’