हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्सलाई उपाधि



काठमाडौं ।

हेम्स, इनोभेटिभ इङलिस स्कुल र काठमाडौं जेभियर्सले १२औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन्। हेम्स सिनियर ब्वाइज, इनोभेटिभ सिनियर गल्र्स र काठमाडौं जेभियर्स जुनियर ब्वाइजमा च्याम्पियन बने।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा हेम्सले काठमाडौं जेभियर्सलाई ४६–३७ ले पराजित गर्‍यो। हेम्सका हेमन्त राजवंशीले २६ अंक जोडे । सनसाइन तेश्रो भयो।

सिनियर गल्र्सको उपाधि भिडन्तमा इनोभेटिभले एसियन पब्लिकलाई १२–११ को साँघुरो अन्तरले हरायो । इनोभेटिभकी ऋद्धि घर्ती मगरले ६ स्कोर गरिन्। सिर्जनशील तेश्रो स्थानमा रह्यो।

जुनियर ब्वाइजको फाइनलमा काठमाडौं जेभियर्सले सनसाइनमाथि ३९–१४ को सहज जित दर्ता ग¥यो । काठमाडौं जेभियर्सका अनमोल कुसुवारले १७ अंक बटुले । चैतन्य संस्कार तेश्रो बन्यो।

फाइनलका सर्वाधिक स्कोरकर्तात्रय हेमन्त, ऋद्धि र अनमोल आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। सिनियर ब्वाइजमा काठमाडौं जेभियर्सका दिनेश गौतम, सिनियर गल्र्समा एसियनकी आकृति माझी र जुनियर ब्वाइजमा चैतन्यका एलिस तामाङ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थनमा रहे।

विजेतालाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपाल आचार्य, प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंका अध्यक्ष दिनेश पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

पुस ६ गतेदेखि शुरु प्रतियोगिताको सिनियर ब्वाइज र गल्र्समा समान १६–१६ तथा जुनियर ब्वाइजमा १८ गरी ५० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

खेलहरू शंखमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) र मध्य बानेश्वरस्थित काठमाडौं जेभियर्सको कोर्टमा खेलाइएको थियो।

प्रतिक्रिया दिनुहोस्