अजलकाजीको राष्ट्रिय कीर्तिमान



काठमाडौं ।

स्वस्तीश्री गुरुकुलका अजलकाजी ताम्राकारले २६औं राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा राष्ट्रिय कीर्तिमान राखेका छन्।

अजलले ५० मिटर बटरफ्लाईको हिट चरणमा सैयद हम्जा शाहले छोटो दूरी (२५ मिटर पुल)मा नेपालमा आयोजना भएको १३औं सागमा कायम गरेको २६.५६ सेकेन्डको समयलाई विस्थापित गर्दै २५.७७ सेकेन्ड समयको नयाँ कीर्तिमान कायम गरेका हुन्।

प्रतियोगिता २५ मिटर वातानुकूलित पौडी पोखरीमा सञ्चालन भएको हो। नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनलमा भने अजलले २५.९२ सेकेन्ड समयका साथ स्वर्ण जिते।

स्वस्तीश्री गुरुकुलका तेन्जिन नामडोल रायन गुरुङ्गले रजत र इरभिन श्रेष्ठले कास्य हात पारे। सातदोबाटोस्थित वातानुकूलित पौडी पोखरीमा भएको प्रतियोगिताको महिला २०० मिटरमा स्वस्तीश्रीकी अनुसिया तन्डुकारले २ मिनेट २२.९० सेकेन्ड समयका साथ स्वर्ण जित्दा आर्या महर्जनले रजत र निसर्ग वाटिकाकी राभ्या श्रेष्ठले कांस्य पाइन्।

पुरुषको १०० मिटर बटरफ्लाईमा स्वस्तीश्रीका तेन्जिन नामडोल रायन गुरुङ्गले १ मिनेट ००.५३ सेकेन्ड समयका साथ स्वर्ण हात पारे। अशिम भण्डारीले रजत र निसर्गका अभिभ प्रधानले कांस्य पाए।

महिला ५० मिटर बे्रस्ट स्ट्रोकमा अदिप्सा बैद्यले ३६.५१ सेकेन्ड समयका साथ स्वर्ण जितिन् । यस्तै, सियर सुभाङ्गी बजगाईले रजत र निसर्गकी बैनभी श्रेष्ठले कास्य पाइन् ।

पुरुषको १०० मिटर फ्रिस्टायलमा स्वस्तीश्रीका अजल काजी ताम्राकारले ५५.०५ सेकेन्ड समयका साथ दूरी पूरा गर्दै स्वर्ण जिते। इरभिन श्रेष्ठले रजत र स्वस्तीश्रीका सेरेन सिंहले कास्य पाए।

महिला १०० मिटर ब्याकस्ट्रोकमा आर्या महर्जनले १ मिनेट १८.१२ सेकेन्ड समयका साथ स्वर्ण जित्दा निसर्ग वाटिकाका राभ्या श्रेष्ठ र सारसी खड्काले क्रमशः रजत र कांस्य पाए।

महिला १०० मिटर ब्रेस्ट स्ट्रोकमा अदिप्सा वैद्यले १ मिनेट २०.१४ सेकेन्ड समयका साथ स्वर्ण पाइन् । निसर्ग वाटिकाका बैनभी श्रेष्ठ र राभ्या श्रेष्ठले रजत र कास्य पाए। पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा अनुभव सुब्बाले २९.५८ सेकेन्ड समयका साथ स्वर्ण जिते । निसर्गका जाडेन श्रेष्ठ र युभन लाल श्रेष्ठले रजत र कास्य पाए।

५० मिटर फ्रिस्टायलको महिला तर्फको प्रतिस्पर्धामा टिसा महर्जनले २९.४५ सेकेन्ड समयका साथ स्वर्ण, रोशा न्यौपानले रजत र मेगन गुरुङ्गले कास्य पाए । ५१ पदकका लागि १४९ खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्