चिसोले भूकम्प पीडित सुत्केरीको मृत्यु

0
Shares

जाजरकोट ।

जाजरकोटमा चिसोका कारण एक जना सुत्केरी महिलाको मृत्यु भएको छ। कुशे गाउँपालिका ९ घर्तिगाँउकी २४ वर्षीया कल्पना नेपालीको बुधबार बिहान मृत्यु भएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो।

कात्तिक १७ गते मध्यरात गएको भुईंचालोले घर चर्किएपछि त्रिपालमुनि बस्दै आएकी कल्पनाले मंसिर १७ गते दुई छोराको जन्माउनुभएको थियो।

चिसो छेक्ने न्यानो कपडा र पोषिलो खानेकुरा नपाउँदा चिसोले बिरामी परेकी कल्पनाको उपचारको लागि पैक स्वास्थ्य चौकी लैजाँदै गर्दा मृत्यु भएको हो।

सरकारले अस्थायी आवासका लागि घोषणा गरेको ५० हजार रुपियाँमध्ये पहिलो किस्ता २५ हजार पाउन नसकेपछि जाजरकोटका भूकम्प पीडितहरू त्रिपालमुनि बस्न बाध्य भएका छन्।

न्यानो आवास नपाउँदा सुत्केरी गर्भवती महिला, बालबालिका विचल्लीमा परेको छन्। सरकारले अस्थायी आवासको व्यवस्था नगर्दा गर्भवती सुत्केरीले अकालमा ज्यान जाने गरेको छ।

कुशे गाउँपालिका ९ का दीर्घजंग सिंहले भूकम्पले घरमा क्षति पुगेपछि चिसो मौसममा बास नपाएका सुत्केरी गर्भवती महिला, बालबालिका, दीर्घरोगीको स्वास्थ्यप्रति सरकारले ध्यान नदिँदा चिसो समयमा त्रिपालमुनि न्यानो नपाएर मृत्यु हुने गरेको बताउनुभयो।

सरकारले नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी छिटो छरितो अस्थायी आवास निर्माण गरी त्रिपालबाट सार्नुपर्ने उहाँको भनाइ छ। दुई महिला बित्दासमेत सरकारले अस्थायी आवासको व्यवस्थापनका लागी घोषणा गरेको ५० हजारमध्ये पहिलो किस्ता २५ हजार रुपियाँ पाउन सकेका छैनन्।

त्रिपालको बसाइका कारण अहिलेसम्म सुत्केरी, गर्भवती महिला, दीर्घरोगी बालबालिका गरी करिब ३० जनाको ज्यान गइसकेको छ भने अधिकांश स्थानमा नागरिकहरू बिरामी पर्न थालेका छन्।