चौदण्डीगढीमा हात्ती आतंक लाखौँको क्षति

0
Shares

उदयपुर ।

मंगलबार राती जंगली हात्तीले आतंक मच्चाउँदा चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरमा लाखौँको क्षति भएको छ ।
गएको मंगलबार बिहानको राति जंगलबाट गाउँ छिरेका हात्तीले स्थानीयको घर भत्काई दिएका थिए भने अन्नवालीमा क्षति पुर्याएका थिए ।

जिल्ला प्रहारी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार जंगलबाट गाउँ छिरेका हात्तीले चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरका बिरेन्द्र बास्तोला, ईन्द्र नारायण चौधरी र वन्दना आचार्यको घरमा क्षती पुर्याउनुका साथै अन्नवाली नष्ट गरेको हो ।

हात्तीले बास्तोलाको सिमेन्टको खम्बा भएको दुई तले काठे घरको अगाडि पट्टीको भागमा पूर्ण क्षति पुर्याउदा अन्दाजी दुई लाख बराबरको क्षति भएको छ भने चौधरीको एकतले पक्की घरको पश्चिम पट्टीको झ्याल र टिनको छानो टाटीबेरा भएको भान्सा घर समेतको पश्चिम पट्टीको टाटी भत्काउँदा करिव ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार जंगली हात्तीले वन्दना आचार्यको घरमा क्षति पुर्याउदा करिव २० हजार बराबरको क्षती पुर्याएको छ ।

चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तुलसीराम ढकालले वडा वासीलाई सुरक्षित रहनु आग्रह गर्दै जंगली हात्तिको आतंकबाट पीडित बनेकाहरुलाई तत्काल राहत उपलब्ध गराउन र उनीहरुलाई सुरक्षित स्थानमा बस्ने  व्यवस्था मिलाउन सरोकारवाला निकायसँग माग गरेका छन् । सुन्दरपुरमा हरेक वर्ष जाडोको समयमा जंगली हात्तीले दुःख दिँदै आएको छ ।