प्रधानमन्त्री कप महिला टी-२० : बागमती र सुदूरपश्चिम विजयी

0
Shares

काठमाडौं ।

जारी प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगितामा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्।

बुधबार सम्पन्न खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ९ रनले पराजित गरेको छ। बागमतीले दिएको ११० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश २० ओभरमा ८ विकेट गुमाएर १०० रन मात्र बनाएपछि बागमती ९ रनले विजयी भएको हो। यस अघि बागमतीले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १०९ रन बनाएको थियो।

त्यस्तै बुधबार नै सम्पन्न अर्को खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ५ विकेटले पराजित गरेको छ। मधेश प्रदेशले दिएको ८३ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १९.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। यसअघि मधेश प्रदेशले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर ८२ रन बनाएको थियो।

यो जितपछि बागमती प्रदेशको ५ खेलमा ६ अंक भएको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ। त्यस्तै जितसँगै सुदूरपश्चिम प्रदेशको ५ खेलमा ८ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ।

लुम्बिनी प्रदेशको हारपछि ५ खेलमा ४ अंक रहेको छ र पाँचौं स्थानमा छ भने मधेश प्रदेशको यो हारपछि ५ खेलमा २ अंक मात्र रहेको छ र सातौं स्थानमा छ । अब बिहीबार बागमती प्रदेशले कर्णाली प्रदेशसँग, लुम्बिनी प्रदेशले मधेश प्रदेशसँग, एपीएफले गण्डकी प्रदेशसँग तथा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशसँग खेल्ने तालिका रहेको छ।