गल्याङ नगरपालिमा कृषकसँग कृषि प्राविधिक कार्यक्रम

0
Shares

स्याङ्जा ।

गाउँ गाउँमा रहेका सामान्य कृषकहरुलाई नगरपालिकाले कृषि र पशु शाखाको सेवा सुविधासँग जोडने प्रयास गरेको छ । नगरपालिकाको कृषि र पशु शाखाले प्रदान हुने सेवा सुविधाको पहुँचबाट टाढा रहेका आम कृषकवर्गलाई सम्बन्धित सेवा सुविधाको बारेमा जानकारी गराउने उद्देश्यले यी शाखाका कार्यक्रमहरु गाउँ केन्द्रित हुन थालेका छन् ।

गाउँका किसानहरुका कृषि र पशु सम्बन्धि परेका समस्या र गुनासाहरु समाधान गर्ने उदेश्यले गल्याङ नगरपालिकाद्वारा आयोजित “कृषकसँग कृषि प्राविधिक कार्यक्रम” सम्पन्न भएको छ । नगरपालिकाले कृषि र पशु उत्पादनमा नगरवासीलाई जोडन उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ । गल्याङ नगरपालिकाका ११ वटा वडाका ६१ वटा गाउँमा असोज २३ गतेदेखि सञ्चालित उक्त कार्यक्रममा नगरपालिका भित्रका ४ हजार १ सय ८७ घर परिवारका कृषकहरुको सहभागीता रहेको थियो ।

नेपालको संविधान २०७२ ले परिकल्पना गरे अनुसार कृषि प्रसारको मुख्य भुमिका स्थानीय तहको हुने भनिए पनि संघियतासंगै कृषि प्रसारको पहुँचमा भएका कृषकको जनसंख्या घटदो छ । स्थानीय स्तरका कृषि कार्यक्रम योजनाहरुमा सिमित वर्गको मात्र पहुँच हुने भएकोले निर्वाहमुखी, विपन्न तथा निम्नवर्गीय कृषक वर्गसम्म पुग्ने गरि गल्याङ नगरपालिकाले कृषकसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरेको नगरपालिकाले जनाएको छ ।

उक्त कार्यक्रम मार्फत गल्याङ नगरपालिकाको ६८% कृषक घरधुरी लाभान्वित भइ कृषि सम्बन्धि परामर्श, अन्तरक्रिया, विउविजन तथा कृषि र पशुपालन हाते पुस्तिका प्राप्त गरेका थिए । यस कार्यक्रम मार्फत ७३.८% महिला लाभान्वित भएको नगरपालिकाको दावी छ । कार्यक्रममा ४८% जनजाति तथा ३% दलित समुदायका कृषकहरुको सहभागी रहेको नगरपालिकाले जनाएको छ ।

कृषि कार्यक्रमको पहुँचमा निर्वाहमुखी कृषक नभएकोले नगरपालिकाले त्यसको लागि नीति तथा कार्यक्रममा व्यवस्था गरि सामान्य कृषक वर्गलाई उत्थान गर्ने र उत्पादन बढाउने नगरप्रमुख भट्टराईले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । समग्रमा कार्यक्रमले केही पहुँचवाला कृषक वरपर घुम्ने कृषि कार्यक्रम निम्न वर्गीय कृषकतर्फ उन्मुख गराउन र उत्पादन बढाउन भुमिका खेलेको उपप्रमुख हेमा न्यौपानेको भनाई छ ।

कृषक वर्गहरुबाट गुणस्तरीय विउविजनमा पहुँच नभएको, प्राविधिकको लागि एग्रोभेटमा भर पर्नुपर्ने, विषादीको जथाभावी प्रयोग गर्ने, परम्परागत खेती प्रविधिको भर पर्नु परेको, गाईवस्तु, बाख्रा तथा बंगुर पालनमा सोचे जस्तो उत्पादन नहुने, बालीहरुको बादरले क्षति गर्ने जस्ता समस्याहरुको उठान भएको पशु शाखा प्रमुख सुशिल अर्यालले बताउनुभयो ।