अध्यादेश ल्याएरै भए पनि संघीयता कार्यान्वयन गर्न सरकारलाई समाजवादी मोर्चाको सुझाव

0
Shares

काठमाडौं ।

समाजवादी मोर्चाले अध्यादेश ल्याएरै भए पनि संघीयता कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यस्तो सुझाव दिएको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्रप्रसाद श्रेष्ठले बैठकमा हालसम्म भएका कामको समीक्षा गरेको र मोर्चाका कामको बारेमा जानकारी गराइएको बताए।

उनले संघीयतालाई कार्यान्वयन गर्नका लागि सरकार अग्रसर भएर दृढतापूर्वक उभिनुपर्नेमा नेताहरुले जोड दिएको बताए। ‘संघीयता कार्यान्वयन भएको भए तलतलबाटै सरकारविरुद्धको जनमतको सामना गर्छ नि त’, बैठकपछि नेता श्रेष्ठले भने।

उनले अहिले अधिकारविहीन प्रदेशहरू हुन गएको र प्रदेशलाई दिनुपर्ने प्रशासनयन्त्रका अधिकार, सुरक्षायन्त्रका अधिकार नदिँदाखेर प्रदेशहरू नै बोझ हो कि भन्ने सन्देश प्रवाह हुन थालेको बताए।

संविधानका अनुसूचीमा व्यवस्थित भएका अधिकारलाई आठआठ वर्षसम्म कार्यान्वयन गर्न नसक्नु कमजोरी भएको उनको भनाइ छ। बैठकमा देशका प्रमुख शहरहरूमा पुन: सन्देश सभाहरू गर्ने समझदारी भएको छ।

मोर्चाले यसअघि सातै प्रदेशमा सन्देश सभा गरेको थियो। उनका अनुसार बैठकमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि प्रश्नहरू उठिरहेकोमा नेताहरूले चिन्ता व्यक्त गरेका थिए। यसलाई चिर्न सन्देशमूलक कार्यक्रम लैजाने सहमति भएको उनले बताए।