सेनाको हेलिकप्टर चढेर बागलुङ पुगे राष्ट्रपति

0
Shares

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ पुगेका छन्। आज बिहान १० बजेर २ मिनेटमा राष्टपति पौडेल नेपाली सेनाको हेलिकप्टरमा बागलुङ पुगेका हुन्।

बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित नेपाली सेनाको गणमा पौडेल अवतरण भएपछि प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरे।

राष्ट्रपति पौडेल सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि बागलुङ आएका हुन्। यस अवसरमा राष्ट्रपति पौडेलले बागलुङ कालिका मन्दिरको दर्शन गर्नुका साथै पूर्जाअर्चना गर्नेछन्।

मन्दिरको दर्शनलगत्तै राष्ट्रपति पौडेलले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित सालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए।

कोरोना सङ्क्रमणका कारण अघिल्लो पटक हुन नपाएको महोत्सव चार वर्षपछि फेरि हुन लागेको हो। यस अघि विसं २०७६ मा महोत्सव भएको थियो।

महोत्सव आजदेखि सुरु भएर पुस २१ गतेसम्म चल्ने अध्यक्ष कँडेलको भनाइ छ। महोत्सवमा एक सय २० भन्दा बढी कक्ष रहने छन्। महोत्सवको करिब सात लाख दर्शकले अवलोकन गर्ने अनुमान छ।