नवौँ नेपाल फर्मा एक्स्पो फागुन २५ गतेदेखि सञ्चालन हुने

0
Shares

काठमाडौं ।

नवौँ नेपाल फर्मा एक्स्पो आगामी फागुन २५ देखि २७ गतेसम्म चितवनमा सञ्चालन हुने भएको छ । नेपाल औषधि उत्पादक संघ (एप्पोन)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चितवनको भरतपुरमा एक्स्पो आयोजना हुने जानकारी गराएको हो । फागुन २५ देखि २७ गते ९मार्च ८ देखि १०० सम्म चितवनमा हुने एक्स्पोमा धेरै किसिमका औषधि उत्पादन प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई देखाइनेछ ।

पत्रकार सम्मेलनमा बोल्दै एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले एक्स्पोमा नेपालमा औषधि उद्योगको दिगोपन र वृद्धिका अगुवाईलाई मुख्य नारा बनाइएको जानकारी दिए । एक्स्पोमा १५० भन्दा बढी स्टलहरु रहने र यसमा भारत, चीन, बंगलादेश, नेपाल, सिंगापुरका स्टलहरु रहने उनले बताए । नेपालको औषधि उद्योगको सबैभन्दा महत्वपूर्ण दाबी गरिएको एक्स्पोमा ३० हजारभन्दा बढी मानिसको उपस्थिति रहने अपेक्षा आयोजकले गरेको छ । यस वर्षको फर्मा एक्स्पोको नारा ’नेपालमा फर्मा उद्योगको दिगोपन र वृद्धिका लागि अगुवाई’ भन्ने तय गरिएको छ ।

कार्यक्रममा बोल्दै एक्स्पोका संयोजक प्रभात रुंगटाले एक्स्पोमा डेढ सय स्टल रहने र अहिले बुकिङको क्रम जारी रहेको बताए । उनले भारत बाहेक चीन लगायतका औषधि कम्पनीहरुको स्टल १५ वटासम्म रहने र ११० वटा जति स्टल भारतीय औषधि कम्पनीका रहने बताए । उनले काठमाडौंमा भृकुटीमण्डप मात्रै एक्स्पो सेन्टर रहेको र एक्स्पोका लागि सो समयमा खालि नरहेकाले चितवन रोजेको बताए ।

प्रत्येक दुई वर्षमा आयोजना गरिने यस एक्स्पोले नेपालका औषधि उद्योगलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भुमिका खेल्ने बताइएको छ । एक्स्पो ज्ञान आदानप्रदानकासाथै सहकार्य, औषधि क्षेत्रको वृद्धि विकासका लागि महत्वपूर्ण हुने आयोजकको भनाइ छ ।