राष्ट्रपति पौडेलले भने- विकास पुगेर पनि गाउँ किन रित्तिँदैछ? समस्याको समाधान खोजौँ

0
Shares

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने व्यक्तिको अभावमा गाउँ रित्तिँदै गएकामा चिन्ता व्यक्त गरेका छन्।

आफूले अध्ययन गरेको सरस्वती बहुमखी क्याम्पसको ६५औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले गाउँ रित्तिँदै छ भन्ने कुराको चिन्ता गरेर यस समस्याको समाधान खोज्न आग्रह गरेका हुन्।

“लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने नागरिकको अभावमा गाउँ किन रित्तिँदै छन् ? नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ”, राष्ट्रपति पौडेलले भने।

उनले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ नेपाली नागरिक ताँती लागेर विदेशिने क्रमलाई रोक्ने गरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी रहेको बताए।

राष्ट्रपति पौडेलले कुनै पनि देशको शिक्षा सामाजिक, आर्थिक अवस्था र आवश्यकताअनुरुप निर्धारण हुनुपर्नेमा जोड दिँदै बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्‍याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति तथा कार्यक्रम निर्माण गर्न सुझाव दिए।

“यसका लागि सामूहिक प्रयत्न जरुरी छ, जसको थालनी उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाबाट हुन आवश्यक छ”, उनले भने । देशकै पुरानो शिक्षण संस्था सरस्वती क्याम्पसको वार्षिकोत्सवमा उपस्थित हुन पाउँदा राष्ट्रपति पौडेलले खुसी व्यक्त गरे।

उनले सोही क्याम्पसमा अध्ययन गरेका हुन्। “मेरो जीवनको ऊर्जावान समय र मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा यस क्याम्पसमा पढ्दा मेरो सहभागिता रहेको थियो”, उनले भने–“म भित्र रहेको राजनीतिक चेतलाई प्रखर बनाउन यस क्याम्पसको वातावरणले दिएको ऊर्जा र प्रेरणा मेरा लागि सदा स्मरणीय रहनेछ।”

सबै नेपालीका छोराछोरीले शिक्षा प्राप्त गर्न अत्यन्त कठिन भइरहेका ती दिनमा पनि सस्तो सुलभ ढङ्गले उच्च शिक्षा अध्ययन गर्ने अवसर प्रदान गरेको सरस्वती क्याम्पस नेपालको शिक्षा क्षेत्रका लागि प्रेरणाको स्रोत बनेको राष्ट्रपति पौडेलले उल्लेख गरे।

“क्याम्पससँग अहिलेको अवस्थामा पनि भौतिक संरचना अभाव हुनु चिन्ताको विषय हो । देशको पुरानो र अग्रणी संस्था सरस्वती क्याम्पसको भौतिक पूर्वाधारलगायतमा विशेष सहयोग गर्न म सरकारसँग आग्रह गर्दछु”, उनले भने।