पोखरासँग नतिजा खोस्दै धनगढी फाइनलमा

0
Shares

काठमाडौं ।

पोखरा थन्डर्स एफसीसँग नतिजा खोसेर धनगढी एफसी दोस्रो संस्करणको नेपाल सृुपर लिगको फाइनलमा पुगेको छ। सोमबार दशरथ रंगशालामा भएको पहिलो क्वालिफायर खेलमा धनगढीले पोखरा थन्डर्स एफसीलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो।

अतिरिक्त समयमा पोखरा २–१ को अग्रतामा थियो । एक पाइला फाइनलमा राखिसकेको पोखरालाई अहमद हिजाजीले निरास तुल्याएका थिए।

अन्तिमतिर खेल पुगिरहेको अवस्थामा हिजाजीले गोल गरेका थिए। उनको गोलले धनगढी खेलमा पुनरागमन भयो भने पोखराको लागि खुसियाली मनाउने तयारी स्थगित हुन पुगेको थियो।

हिजाजीको गोलले खेल २–२ बराबरीमा सकिएको थियो । यसले गर्दा नतिजा छिनोफानोको लागि खेल पेनाल्टी सुटआउटमा धकेलियो । यसमा पनि पोखराले ३–२ को अग्रता लिइसकेको थियो । तर, धनगढीले उत्कृष्ट पुनरागमन गरेर यहाँ पनि पोखराको फाइनल पुग्ने सम्भावनालाई लत्याइदियो।

पहिलो दुई दुई पेनाल्टीमा गोल भयो र २–२ को स्थितिमा रह्यो । तर, खेल पेनाल्टीमा पुर्‍याएका हिजाजी भने यहाँ असफल बने। उनको प्रहारलाई पोखराको गोलकीपर प्रिसोले बचाएका थिए।

तेस्रो पेनाल्टी गोल भएपछि पोखराले ३–२ को अग्रता लिएको थियो। पोखरा अझै फाइनलनिकट थियो।

ताहा नायक

चौथो र पाँचौ पेनाल्टी धनगढीका गोलकिपरले ताहाले बचाएर नायक बने। आशिष चौधरीले गोल गरेपछि धनगढीले खेल ३–३ बराबरीमा ल्याए। पोखराको चौथो पेनाल्टी प्रहार मोसेस ग्याबोले गरेका थिए।

उनको प्रहारलाई ताहाले बचाएपछि पाँचौं प्रहारलाई देवेन्द्र तामाङले गोलमा परिणत गरे । यो गोलमा धनगढी ४–३ को अग्रतामा पुग्यो । खेलमा पहिलोपटक धनगढी अग्रतामा पनि पुगेको थियो। अन्तिम पेनाल्टी प्रहार गोल भएमा पोखरा खेलमा रहिरहने अवस्थामा थियो।

यो स्थितिमा आयुष घलानमाथि गोल गर्नै पर्ने पूरै दबाब थियो । पोखराका लागि पाँचौं मिनेटमै गोल गरेका आयुषले गोल भने गर्न सकेनन्। उनको फितलो प्रहार धनगढीका गोलकिपर ताहाले सहजै बचाएका थिए।

योसँगै धनगढीको फाइनल यात्रा तय भयो। धनगढी गत सम्पन्न पहिलो संस्करणको फाइनलिस्ट टोली थियो। त्यतिबेला, धनगढी फाइनलमा काठमाडौं रेजर्ससँग पराजित भएको थियो।

पोखराको लागि आयुष घलानले खेलको पाँचौं मिनेटमै गोल गरेका थिए। उनले क्लोज रेन्जमा गोल गर्दै पोखरालाई १–० को अग्रता दिलाएका थिए । यसपछि ५४औं मिनेटमा धनगढीका लागि देवेन्द्र तामाङले गोल गरेका थिए। यो गोलसँगै खेल १–१ बराबरीमा पुगेको थियो।

निर्धारित समय १–१ बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थपियो । यसमा पनि निर्धारित समयमा झै दुवै टोलीले एक–एक गोल गरेको थियो।

स्टेफान पपाले १०३ औं मिनेटमा गोल गरेर पोखरालाई २–१ को अग्रता दिलाएका थिए। यसपछि खेल सकिन लाग्दा अहमद हिजाजीले उत्कृष्ट गोल गर्दै खेल २–२ बराबरीमा पुर्‍याए।

पोखरालाई अर्को अवसर

यो पहिलो क्वालिफायर खेल भएको हुँदा नियमअनुसार हारेको टोलीले अर्को क्वालिफायर खेल खेल्न पाउनेछ। यस हिसाबले फाइनलमा पुग्न पोखरालाई अर्को अवसर रहेको छ।

अर्को खेल मंगलबार काठमाडौं र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ। यो खेलको विजेता टोलीसँग पोखराले खेल्नेछ। दोस्रो क्वालिफायर खेल बिहीबार हुनेछ।