समाचार प्रभाव : दाम्लोमा बाँधेर राखिएका तीन जनाको उद्धार

0
Shares

धादिङ । 

दाम्लोले बाँधेर पशु सरह राखिएका धादिङका तीन  जनाको उद्धार गरिएको छ । मानवसेवा आश्रम काठमाडौँले  उनीहरुको उद्धार गरेको हो।

नेपाल समाचारपत्र दैनिकमा पुस ५ गते ‘दाम्लोमा बाँधिनु बाध्यता कि रहर’?  शीर्षकमा समाचार प्रकाशन भएको थियो ।

ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ का शिवबहादुर गुरुङका १४ वर्षीय रोशन गुरुङ र १७ वर्षीय सोमबहादुर  गुरुङलाई बाँधेर राखिएको र परिवारले उद्धारको आशा गरेको कुरा समाचारमा उल्लेख थियो ।

मानव सेवा आश्रमले घरमै पुगेर उद्धार गरेपछि र  उपचार गरेपछि कहाँ कसरी राख्ने भन्नेबारे पछि छलफल गर्ने जानकारी दिएको छ । उनीहरुको उपचारका लागि परिवारका सदस्यलाई समेत साथै लगिएको छ ।

गंगाजमुना गाउँपालिका वडा नम्बर ३ पोखराका २० वर्षीय मदनकुमार तामाङको पनि उद्धार गरिएको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत र स्थानीय वडा अध्यक्षले उद्धार गरी मानव सेवा आश्रम लागेको  प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले जानकारी दिए ।

मानसिक समस्या भोग्दै आएपछि उनीहरुलाई काममा जाँदा बाँधेर राख्ने गर्नु परेको परिवारको बाध्यता रहेको  बताएका थिए ।

उनीहरुको अवस्थाबारे बेखबर रहेको स्थानीय सरकार ज्वालामुखी गाउँपालिकामा जानकारी नै नभए जसरी बसेको छ । गंगाजमुना गाउँपालिकामा भने गाउँपालिकाको तर्फबाट उसको परिवारलाई समेत सहयोग उपलब्ध गराएर उद्धारमा सघाएको छ ।

 गंगाजमुना गाउँपालिकाले नै मानवसेवा आश्रमसम्म परिवारको सदस्य समेत लिएर जाने व्यवस्था मिलाएको छ । बाँधेर राखिएको समाचारपछि जिल्लाका केही अन्य स्थानहरुमा पनि यसरी राख्नु परेको सूचनाहरु नेपाल समाचारपत्रलाई प्राप्त भएको छ ।