सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

0
Shares

काठमाडौं ।

सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। सोमबार बिहान बीपी राजमार्गमा पर्ने सिन्धुलीको सुनकोसी गाउँपालिका ३ बोहोरेटारमा बस र विपरीत दिशाबाट आएको मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकल चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा खोटाङ जिल्ला तुवाचुङ नपा–२ का मोटरसाइकल चालक कुमार राई र खोटाङको दिक्तेल नगरपालिका–१० बस्ने १८ वर्षीया मुनाकला राई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रहरीका अनुसार मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको अरनिको यातायातको बस र बा ६० प ३५४५ नम्बरको मोटरसाइलकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनापछि स्थानीयले मोटरसाइकलाई ठक्कर दिने बसमा आगजनी गरेका छन्। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।