ओडीसीको विजयी सुरुआत



काठमाडौं ।

ओडीसी इन्टरनेसनल एकेडेमीले सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ।

उत्तरभेगीय शैक्षिक मञ्च तथा ऋत एकेडेमीको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा ओडीसीले ओएसिसलाई ३–१ गोलले पराजित गर्‍यो।

चावहिल गणेशथान मैदानमा भइरहेको प्रतियोगितामा इलियम मेमोरियलले पारामाउन्टलाई ४–२, लिटिल क्लाइम्बरले गणेश हिमाललाई ३–१, सेक्रेड हार्टले तिलिङटारलाई ४–२ र लुम्बिनीले कान्तिपुरलाई २–१ ले हराए।

वसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले अपी स्कुलबाट वाकओभर पायो । सिक्स ‘ए’ साइड स्वरूपको नकआउट प्रतियोगितामा ६४ टिम सहभागी छन्।

प्रतियोगिताबाट उत्कृष्ट २० खेलाडी छनोट गरी डेनमार्कमा जुलाईमा हुने डाना कप यु–१६ फुटबल प्रतियोगितामा सहभागी गराइने छ।

त्यस्तै, प्रतियोगिताको मुख्य प्रायोजकसमेत रहेको ऋत एकेडेमीले ३० जना उत्कृष्ट खेलाडीलाई प्लस टु अध्ययन गर्न जनही ६० हजार बराबरको छात्रवृत्ति प्रदान गर्ने ऋतका प्रिन्सिपल आनन्दकुमार यादवले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्