इलाम गोल्डकपको तयारी तीव्र

0
Shares

इलाम ।

फुटबललाई संस्कृति मान्ने इलामेलीहरूले लामो समयदेखि फुटबलको मज्जा लिन पाएका छैनन्। इलाम सदरमुकाममा रहेको एकमात्र ठूलो टुडिखेलमा ‘ए’ डिभिजन फुटबल क्लब र त्यसमा आबद्ध रहने अधिकांश राष्ट्रिय स्तरका खेलाडीको खेल कौशल हेर्नबाट इलामेहरू बञ्चित भइरहेका छन्।

जिल्लाका गाउँ–गाउँमा सानातिना फुटबल प्रतियोगिता भने भइरहेका छन्। तर, ठूलो धनराशि पुरस्कार भएको त्यसमा पनि राष्ट्रिय स्तरका खेलाडीको खेल कौशलको मज्जा भने इलामेलीले लिन नपाएका हुन्।

२०७१ सालबाट हुँदै आएको नेपालकै प्रतिष्ठित मध्येको माईभ्याली गोल्डकप पनि २०७७ सालयता सञ्चालन हुन सकेको छैन । जसले गर्दा पनि इलामकै एक मात्र ठूलो टुँडिखेल सुनसान जस्तै बन्दै आइरहेको छ।

स्तरीय प्रतियोगिता सञ्चालन नहुँदा यहाँका कतिपय प्रतिभावान् खेलाडीसमेत खेल क्षेत्रबाट पलायन हुने अवस्थामा पुगेका छन्। यसैलाई मध्यनजर गर्दै जिल्लाकै एक प्रतिष्ठित फुटबल क्लब रेडहर्स फुटबल क्लबले आउँदो माघ ६ देखि १३ गतेसम्म ‘इलाम गोल्डकप’को आयोजना गर्ने भएको छ।

कोशि प्रदेश सहित भारतका विभिन्न स्थानहरूमा भएका गोल्डकपमा ट्रफी उचाल्दै आएको यस क्लबले जिल्लामा पहिलोपटक पहिलो संस्करणको ‘इलाम गोल्डकप’ को आयोजना गर्न लागेको गोल्डकप प्रचार प्रसार समितिका संयोजक राजीव सिंह खत्रीले बताउनुभयो।

‘प्रथम संस्करण भएकाले आयोजकले बिभिन्न माध्यमबाट गोल्डकप सफल बनाउन प्रचार प्रसारलाई पनि तीव्रता दिएको छ’ खत्रीले भन्नुभयो–‘भव्य र सभ्यरूपमा गोल्डकप सफल बनाउनेछौं’ । ‘इलाम गोल्डकप’ सम्पन्न गर्नका लागि करिब ६० लाख खर्च हुने क्लबका अध्यक्ष साङ्गे योल्मुको भनाइ छ।

‘देशविदेशमा रहेका इलामेली, अन्यदाता, संघ–संस्थाका साथै जिल्लाका दशै पालिका र टिकट बिक्री हाम्रो प्रमुख आर्थिक श्रोत हो’ साङ्गेले भन्नुभयो–‘हालसम्म स्पोन्सर पाएका छैनौं, स्पोन्सर पनि खोजिरहेका छौं।’

यस गोल्डकपमा लिग च्याम्पियन चर्च ब्वाइजका साथै एनआरटी, बागमती युथ क्लब, सुनसरी, झापा र पाँचथर र आयोजक रहनेछ भने भारत दार्जिलिङको टिमसहित आठ टिमको सहभागिता रहनेछ।

गोल्डकपको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैंयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव प्रकाश घिमिरेले जानकारी दिनुभयो।

प्रथम पुरस्कार इलाम नगरपालिकाले उपलब्ध गराउने भएको छ। त्यस्तै, विभिन्न विधामा उत्कृष्ट खेलाडीहरू पनि पुरस्कृत बन्नेछन्।