पोर्चुगलमा नेपाली क्लबबीच चिची पापा क्रिसमस कप हुने



काठमाडौं ।

पोर्चुगलमा रहेको नेपाली फुटबल क्लबहरूबीच प्रथम चिची पापा क्रिसमस कप फुटबल २०२३ प्रतियोगिता हुने भएको छ।

लिस्बनस्थित चिची पापा रेष्टुरेन्टको मुख्य प्रायोजन र ग्रिल एन्ड चिल रेष्टुरेन्टको सह–प्रायोजन तथा मनमैजू फुटबल क्लब पोर्चुगल र मेची–महाकाली क्लब पोर्चुगलको संयुक्त आयोजनामा पोर्चुगलको राजधानी लिस्बनस्थित भिक्टोरिया क्लब डे लिस्बनको खेलमैदानमा यसपटक क्रिसमसको दिन पारेर २६ डिसेम्बरमा प्रथम क्रिसमस कप फुटबल २०२३ हुन लागेको हो।

सेभेन ए साइड ढाँचामा हुने उक्त प्रतियोगितामा सहभागी हुनाका लागि १२ वटा नेपाली फुटबल क्लबले नाम मात्र दर्ता गरेको आयोजकले जनाएको छ।

प्रत्येक टोलीहरूलाई चार समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा एउटा टोलीले कम्तिमा दुई म्याच खेल्ने र प्रत्येक समूहबाट दुई टोली क्वार्टरफाइनलमा पुग्ने आयोजक मनमैजू फुटबल क्लब पोर्चुगलका अध्यक्ष तथा इभेन्ट अर्गनाइजर कमल खड्काले जानकारी गराउनुभयो।

प्रतियोगितामा समूह चरणका प्रत्येक म्याच र क्वार्टरफाइनल खेलहरू १५ मिनेटको हुने र सेमिफाइनल र फाइनल खेल भने २०–२० मिनेटको हुनेछ।

प्रतियोगितामा प्रथम र दोस्रो हुने टोलीले ट्रफी र प्रमाणपत्रसहित क्रमशः २ हजार र १ हजार युरो नगद पुरस्कार प्राप्त गर्नेछन्।

त्यसैगरी, प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र फेयर प्ले टिमलाई ट्रफी प्रदान गर्न एभरेस्ट जक्सन एभरेस्ट रेस्टुरेन्ट र ओरिन्टे बार्बरले सहयोग गर्नेछ।

प्रतियोगिताको प्रसारण गोलनेपाल डट कमले गर्ने आयोजकले जनाएको छ। अध्यक्ष खड्काले यो प्रतियोगिता हरेक वर्षको क्रिसमसको दिन पारेर आयोजना गर्ने लक्ष्य रहेको बताउनुभयो।

यस वर्ष सेभेन ए साइड खेलाइए पनि आगामी वर्ष भने फुल टिम अर्थात् ११ जना खेलाडीसहितको टिमहरूबीच प्रतियोगिता गर्ने योजना रहेको बताउनुभयो। सह–आयोजक काठमाडौंको मनमैजु फुटबल क्लबले पोर्चुगलमा पहिलोपटक आफ्नो कार्यालयसमेत खोलेको छ।

क्लबले पोर्चुगलमा रहेका हजारौ नेपालीलाई फुटबलका माध्यमबाट जोड्ने उद्देश्यसहित उक्त प्रतियोगिता गर्न लागेको बताएका छन्।

पोर्चुगलमा फुटबल निकै लोकप्रिय खेलको रूपमा रहेकोले त्यहाँ रहेका नेपालीहरूबीच पनि आत्मीयता र सद्भाव बढाउन फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष खड्का बताउनुहुन्छ। उहाँले क्लबले निकट भविष्यमा नै लिस्बनमा फुटबल एकेडेमी पनि सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिनुभयो।

त्यस्तै, २०२२ देखि पोर्चुगलमा सञ्चालनमा आएको अर्को नेपाली फुटबल क्लब मेची–महाकाली टिमले पनि पोर्चुगलमा रहेका प्रवासी युवा नेपालीहरूलाई फुटबल विकासमा प्रेरित गर्न यस्ता खाले प्रतियोगिता कोसेढुंगा सावित हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्