गणतन्त्र कमजोर बनाउने कुरालाई निस्तेज पार्नुपर्छ : देउवा

0
Shares

काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र कमजोर पार्ने कुरालाई निस्तेज पार्नुपर्ने बताउनुभएको छ।

‘सन्त नेता’को छवि बनाएका भट्टराईको शताब्दी जन्मदिवसको अवसरमा आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा देउवाले गणतन्त्र कमजोर पार्ने कुरा भइरहेको भन्दै त्यसलाई दलहरूले निस्तेज पार्नुपर्ने बताउनुभएको हो।

‘अहिले गणतन्त्रलाई कमजोर पार्ने कुरा आइरहेको छ’, उहाँले भन्नुभयो– ‘त्यसलाई निस्तेज पार्नुपर्छ। कांग्रेसकै नेतृत्वमा सबै परिवर्तन भएकाले यो व्यवस्थालाई संस्थागत गर्न पनि कांग्रेसले विशेष भूमिका खेल्छ। यो व्यवस्थाका लागि भट्टराईको पनि योगदान छ।’

स्व. नेता कृष्णप्रसाद भट्टराई कुनै पनि बदनामले नछोएको व्यक्ति भएको भन्दै देउवाले पार्टीले भट्टराईको विषयमा खोजीनीति गर्ने बताउनुभयो।

भट्टराईको राजनीतिक, सामाजिक जीवनका विषयमा आम नागरिकलाई जानकारी दिन पार्टीले पुस्तक सार्वजनिक गर्ने उहाँको भनाइ छ। ‘उहाँको विषयमा खोजीनीति हुनुपर्छ । किताब राम्रोसँग लेख्नुपर्छ । हामी पार्टीबाट यसमा लाग्ने छौँ’ –देउवाले भन्नुभयो ।

यस्तै, भट्टराईको पथमा हिँड्न सके मात्र कांग्रेस सच्चा प्रजातान्त्रिक दल हुन सक्ने जिकिर गर्दै उहाँले भट्टराईको पथमा हिँडे वर्तमान राजनीतिक व्यवस्था पनि बलियो बन्ने बताउनुभयो।

उहाँले यसअघि थप्नुभयो– ‘भट्टराईजीका बारेमा जति बोले पनि पुग्दैन। उहाँ निर्लोभी, कुनै पनि बदनामले नछोएको व्यक्ति, अत्यन्त त्यागी हुनुहुन्थ्यो। वास्तवमा उहाँको विषयमा खोजीनीति हुनुपर्छ। उहाँको विश्लेषण हुनुपर्छ। उहाँको कुरा किताबमा लेख्नुपर्छ। यो कुरामा हामी लागेका छौँ।’